मेटलाइफ नेपालको गण्डकी प्रदेश कार्यालय पोखरामा सञ्चालन
वि.सं.२०८३ साउन २६ मंगलवार १३:४८
shares

काठमाडौं, २६ साउन । मेटलाइफ नेपालले पोखरा महानगरपालिका–९, न्युरोडस्थित अव्यक्त कम्प्लेक्समा गण्डकी प्रदेश कार्यालय सञ्चालनमा ल्याएको छ । नयाँ कार्यालयमार्फत गण्डकी प्रदेशका ग्राहक, बीमा अभिकर्ता तथा व्यावसायिक साझेदारलाई थप छिटो, सहज र गुणस्तरीय सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ ।
कार्यालय उद्घाटन समारोहमा नेपाल बीमा प्राधिकरण, गण्डकी प्रदेश कार्यालयका प्रमुख शम्भु प्रसाद मिश्र तथा मेटलाइफ नेपालका वरिष्ठ पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
नयाँ कार्यालयबाट ग्राहकले बीमा परामर्श, पोलिसी सेवा, दाबी (क्लेम) सम्बन्धी सहजीकरण तथा ग्राहक सेवाजस्ता सुविधा आफ्नै प्रदेशबाट सहज रूपमा प्राप्त गर्न सक्नेछन् । साथै, बीमा अभिकर्ता तथा व्यावसायिक साझेदारलाई आवश्यक सहयोग उपलब्ध गराउँदै सेवा प्रवाहलाई थप प्रभावकारी र उत्तरदायी बनाउने कम्पनीको अपेक्षा छ ।
यस अवसरमा मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले गण्डकी प्रदेशमा कार्यालय स्थापना गर्नु यस क्षेत्रप्रतिको कम्पनीको दीर्घकालीन प्रतिबद्धताको प्रतिबिम्ब भएको बताए।
उहाँले भन्नुभयो, “बीमा सेवा सबैका लागि सहज पहुँचयोग्य, आवश्यकताअनुसार उपयोगी र स्थानीय समुदायको अपेक्षाअनुरूप हुनुपर्छ । यस कार्यालयमार्फत हामी आफ्ना ग्राहकसँग अझ नजिक हुँदै उनीहरूको आर्थिक भविष्यलाई थप सुरक्षित र आत्मविश्वासी बनाउन योगदान पुर्याउनेछौं ।”
गण्डकी प्रदेश कार्यालय सञ्चालनमा आएसँगै स्थानीय समुदायसँगको सहकार्य सुदृढ हुने, बीमा अभिकर्ताको व्यावसायिक क्षमता अभिवृद्धिमा सहयोग पुग्ने तथा प्रदेशभरका व्यवसायिक संस्था र विभिन्न निकायसँगको सहकार्य विस्तार हुने कम्पनीले विश्वास लिएको छ ।
मेटलाइफ नेपाल सन् २००१ देखि नेपालमा सञ्चालन हुँदै आएको छ । कम्पनीले व्यक्तिगत तथा संस्थागत ग्राहकलाई जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा र सामूहिक बीमालगायतका सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।















