Dhulikhel Eco Banner new

बजारको अधिक तरलता नियन्त्रणमा राष्ट्र बैंक, ३० अर्बको निक्षेप संकलन

273
shares

काठमाडौं, १३ साउन । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँ बराबरको दुई महिने निक्षेप संकलन उपकरण (डिपोजिट कलेक्सन) जारी गर्ने भएको छ।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले बुधबार सूचना जारी गर्दै २०८३ साउन १३ गते दुई महिने अवधिका लागि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत जारी गर्न लागेको जनाएको हो सूचनाअनुसार बोलकबोल २०८३ साउन १३ गते दिउँसो ३ बजेसम्म हुनेछ भने सोही दिन उपकरण निष्कासन गरिनेछ। निक्षेपको साँवा तथा ब्याज भुक्तानी आगामी असोज १२ गते गरिने राष्ट्र बैंकले जनाएको छ।

यस उपकरणको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ। बोलकर्ताले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँको गुणकमा सहभागी हुन सक्ने व्यवस्था गरिएको छ। अर्थात् सहभागी संस्थाले ५ करोड रुपैयाँको अन्तरमा रकम प्रस्ताव गर्नुपर्नेछ।

राष्ट्र बैंकले जारी गर्ने उपकरणका लागि कुल आह्वान रकम ३० अर्ब रुपैयाँ तोकिएको छ। बोलकबोल प्रक्रिया अनलाइन बिडिङ सिस्टम सफ्टवेयर (ओबीएसएस)मार्फत मात्र सञ्चालन हुने जनाइएको छ।

निक्षेप संकलन उपकरणमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन्। यस उपकरणलाई अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा समेत प्रयोग गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

बोलकबोलमा सहभागी संस्थाले आफूले राख्न चाहेको निक्षेप रकम र ब्याजदर उल्लेख गर्नुपर्नेछ। समान ब्याजदरमा माग गरिएको रकम कुल निष्कासन रकमभन्दा बढी भएमा समानुपातिक ९प्रो–राटा० आधारमा बाँडफाँट गरिनेछ।राष्ट्र बैंकले सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बोलकर्तालाई प्राथमिकता दिँदै क्रमशः रकम बाँडफाँट गर्ने जनाएको छ।

स्वीकृत बोलकर्ताको रकम राष्ट्र बैंकले सम्बन्धित संस्थाको राष्ट्र बैंकमा रहेको खाताबाट खर्च कट्टा गरी निक्षेप खातामा जम्मा गर्नेछ। तोकिएको मितिमा ब्याजसहित साँवा रकम सम्बन्धित संस्थाको खातामा फिर्ता गरिनेछ।

राष्ट्र बैंकका अनुसार यस्तो निक्षेप संकलन उपकरणबाट संकलित रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थाको लगानी पोर्टफोलियोका रूपमा रहने भएकाले अनिवार्य नगद मौज्दात (सीआरआर) गणनामा समावेश गर्न पाइने छैन। तर राष्ट्र बैंकले तोकेको वैधानिक तरलता अनुपात (एसएलआर) तथा तरलता अनुपात गणनामा भने समावेश गर्न सकिनेछ।

बैंकिङ प्रणालीमा अधिक तरलता बढेपछि राष्ट्र बैंकले पछिल्लो समय विभिन्न अवधिका निक्षेप संकलन उपकरणमार्फत बजारबाट रकम खिच्दै आएको छ। यस्तो उपकरणमार्फत केन्द्रीय बैंकले तरलता व्यवस्थापन गर्दै ब्याजदर स्थायित्व कायम गर्ने प्रयास गर्दै आएको छ।