रक्षा क्षमता उकास्ने तयारीमा इरान, चीनबाट आधुनिक मिसाइल प्रणाली खरिद
वि.सं.२०८३ साउन १३ बुधवार ११:२१
shares

काठमाडौं, १३ साउन । इरानले आफ्नो वायु रक्षा क्षमता सुदृढ बनाउन चीनबाट निर्मित पोर्टेबल वायु रक्षा मिसाइल प्रणाली (म्यानप्याड्स) खरिद गरेको र त्यसको पहिलो डेलिभरी केही साताभित्र प्राप्त गर्ने तयारी भइरहेको छ ।
रोयटर्सका अनुसार इरानले ३०० देखि ४०० वटा क्यूडब्ल्यू–१२ र एफएन–१६ प्रकारका वायु रक्षा मिसाइल प्रणाली खरिद गर्न सम्झौता गरेको छ। मिसाएलका लागि ६० देखि ७० मिलियन अमेरिकी डलर रहेको सम्झौता भएको बताइएको छ।
यद्यपि चीनको विदेश मन्त्रालयले उक्त समाचारलाई “पूर्ण रूपमा निराधार” भन्दै खण्डन गरेको छ। मन्त्रालयले चीनले सधैं शान्ति स्थापना र द्वन्द्व अन्त्यका लागि भूमिका खेल्दै आएको जनाएको छ ।
रोयटर्सका अनुसार प्रारम्भिक चरणमा मिसाइल प्रणाली चीनको पश्चिमी सहर उरुम्चीबाट पठाइनेछ र पाकिस्तान हुँदै इरान पुर्याइने योजना छ। तर पाकिस्तानले पनि आफ्नो भूमिकाबारे आएका दाबीहरूलाई “पूर्ण रूपमा मनगढन्ते र गलत” भन्दै अस्वीकार गरेको छ।
सम्झौता हङकङस्थित झोङछिङ बाओशाङ इन्टरनेसनल इन्भेस्टमेन्टमार्फत भएको हो, जसले इरानी पक्ष र चिनियाँ आपूर्तिकर्ताबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको छ । अमेरिका र इजरायलसँगको युद्धका क्रममा आफ्ना सैन्य संरचना, मिसाइल कार्यक्रम तथा रणनीतिक पूर्वाधारमा क्षति पुगेपछि इरानले पुनः सैन्य क्षमता विस्तार गर्ने प्रयास गरिरहेको बताइएको छ। युद्धले इरानको वायु रक्षा प्रणालीका कमजोरीहरू पनि उजागर गरेको विश्लेषण गरिएको छ।
क्यूडब्ल्यू–१२ र एफएन–१६ इन्फ्रारेडमार्फत लक्ष्य पहिचान गर्ने, कम उचाइमा उड्ने विमान, हेलिकप्टर तथा ड्रोनलाई निशाना बनाउन सक्ने पोर्टेबल सतह–देखि–आकाश मिसाइल प्रणाली हुन्। यस्ता प्रणालीलाई सजिलै सार्न सकिने भएकाले स्थिर वायु रक्षा संरचनाभन्दा कम जोखिमयुक्त मानिन्छ।
पश्चिमा सुरक्षा स्रोतहरूका अनुसार इरानले क्यूडब्ल्यू–१२ सँगै क्यूडब्ल्यू–१८ र क्यूडब्ल्यू–१९ प्रणाली खरिद गर्ने सम्भावनाबारे पनि छलफल गरिरहेको छ। साथै, चिनियाँ सैन्य सामग्री र दोहोरो प्रयोग हुने उपकरणहरू स्थलमार्गबाट ल्याउने विकल्पबारे पनि अध्ययन गरिएको बताइएको छ।

















