Dhulikhel Eco Banner new

भदौ महिनामा बैंकहरुमा थपियो ५३ अर्ब निक्षेप, कर्जा प्रवाह पनि १३ अर्बले बढ्यो

4.26K
shares

काठमाडौं, ४ असोज । भदौ महिनामा बैंकहरुको निक्षेप संकलन ५३ अर्बले बढेको छ । चालू आर्थिक वर्षको पहिलो महिनाको तुलनामा दोस्रो महिना ५३ अर्बले बढेर बैंकहरुको निक्षेप संकलन ४४ खर्ब ८६ अर्ब पुगेको हो ।

साउन महिनाको अन्तिम दिनसम्म ४४ खर्ब ३३ अर्ब निक्षेप रहेको बैंकहरुमा भदौ महिनाको अन्तिम दिनसम्म आईपुग्दा ४४ खर्ब ८६ अर्ब पुगेको हो । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार भदौ दोस्रो सातासम्म घट्दो क्रममा रहेको बैंकको निक्षेप संकलन तेस्रो हप्तादेखि भने बढ्न थालेको देखिएको छ ।

सुरुका दुई हप्तामा ४४ खर्ब २६ अर्ब रहेको बैंकको निक्षेप संकलन तेस्रो हप्तामा बढेर ४४ खर्ब ३७ अर्ब पुगेको थियो । चौथो हप्तामा ४४ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप रहेको बैंकमा भदौको अन्तिम दिन ३१ गतेसम्म आइपुग्दा ४४ खर्ब ८६ अर्ब पुगेको छ ।

यो अवधिका बैंकहरुको कर्जा प्रवाह पनि १३ अर्बले बढेको छ । साउन महिनाको ३१ गतेसम्म ४१ खर्ब ७७ अर्ब कर्जा प्रवाह गरेका बैंकहरुले भदौ ३१ गतेसम्म आइपुग्दा ४१ खर्ब ९० अर्ब ऋण प्रवाह गरेको देखिएको छ । बैंकहरुको कर्जा प्रवाह भने साउन महिनाको सुरुदेखिनै सामान्य रुपमा बढीनै रहेको थियो ।