विदेशी विनिमय सञ्चिति वृद्धि
वि.सं.२०८० असोज ३० मंगलवार १४:२२
shares

काठमाडौं, ३० असोज । कुल विदेशी विनिमय सञ्चिति ३.९ प्रतिशतले वृद्धि भएको छ । २०८० असार मसान्तमा १५३९ अर्ब ३६ करोड बराबर रहेको विदेशी विनियम सञ्चिति २०८० भदौ मसान्तमा १५९८ अर्ब ९० करोड पुगेको राष्ट्र बैंकले मंगलबार चालु महिनाको विवरण सार्वजनिक गर्दै उल्लेख गरेको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० भदौ मसान्तमा २.६ प्रतिशतले वृद्धि भई १२ अर्ब १ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३४५ अर्ब ७८ करोड रहेकोमा २०८० भदौ मसान्तमा ४.५ प्रतिशतले वृद्धि भई १४०६ अर्ब ५२ करोड रुपैयाँ पुगेका छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १९३ अर्ब ५९ करोड रुपैयाँ रहेकोमा २०८० भदौमसान्तमा ०.६ प्रतिशतले कमी आई १९२ अर्ब ३८ करोड रुपैयाँ कायम भएको छ । २०८० भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.७ प्रतिशत रहेको छ ।
दुई महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२.६ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८० भदौ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २९.७ प्रतिशत, ८६.० प्रतिशत र २६.२ प्रतिशत रहेको छ । २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.१ प्रतिशत रहेका थिए ।
अन्तर्राष्ट्रिय बजारमा २०७९ भदौ मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ८९.४३ रहेको कच्चा पेट्रोलियमको मूल्य २०८० भदौ मसान्तमा ६.८ प्रतिशतले बृद्धि भई अमेरिकी डलर ९५.५५ कायम भएको छ । त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा २०७९ भदौ मसान्तमा प्रति आउन्स सुनको मूल्य अमेरिकी डलर १६६४.६५ रहेकोमा २०८० भदौ मसान्तमा १५.८ प्रतिशतले वृद्धि भई अमेरिकी डलर १९२७.७० पुगेको छ ।
२०८० असार मसान्तको तुलनामा २०८० भदौ मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ १.२ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ०.२३ प्रतिशतले अधिमूल्यन भएको थियो । २०८० भदौ मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १३२.८० रुपैयाँ पुगेको छ । २०८० असार मसान्तमा उक्त विनिमय दर १३१.१७ रहेको थियो ।
नेपाल सरकार, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८०÷८१ को दुई महिनामा नेपाल सरकारको कुल खर्च १३१ अर्ब १४ करोड भएको छ । समीक्षा अवधिमा चालु खर्च ८७ अर्ब ६६ करोड, पुँजीगत खर्च ८ अर्ब १६ करोड र वित्तीय व्यवस्था खर्च ३५ अर्ब ३१ करोड रहेको छ ।
समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) १४१ अर्ब ८ करोड भएको छ । यस अन्तर्गत कर राजस्व १२७ अर्ब ९६ करोड रुपैयाँ र गैर कर राजस्व १३ अर्ब १२ करोड रुपैयाँ परिचालन भएको छ ।
२०८० भदौमसान्तमा यस बैंकमा रहेका सरकारका विभिन्न खातामा १९२ अर्ब ५ करोड रुपैयाँ (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकम समेत) नगद मौज्दात रहेको छ । २०८० असार मसान्तमा यस्तो मौज्दात ७१ अर्ब ९८ करोड रहेको थियो ।
















