Dhulikhel Eco Banner new

रेमिट्यान्स २२ प्रतिशतले बढ्यो

6.03K
shares

काठमाडौं, ३० असोज । चालु आर्थिक वर्ष २०८०/८१ को भदौसम्ममा विप्रेषण आप्रवाह (रेमिट्यान्स) २२.१ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार चालु वर्षको भदौ महिनाको विवरण सार्वजनिक गर्दै रेमिट्यान्स बढेको जनाएको हो ।

दुई महिनाको अवधिमा विप्रेषण आप्रवाह २२.१ प्रतिशतले वृद्धि भई २२८ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई १ अर्ब ७३ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो वर्ष यस्तो आप्रवाह ११.३ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २८.३ प्रतिशतले कमी आई ७४,४५५ कायम भएको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १८.३ प्रतिशतले कमी आई ३२००४ कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७०.६ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २१.९ प्रतिशतले वृद्धि भई रु.२५१ अर्ब ६१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १९.५ प्रतिशतले बढेको थियो ।