Dhulikhel Eco Banner new

बजारमा भिड छ, दोकान खाली

5.16K
shares

काठमाडौं, ३० असोज । भोटाहिटी हुँदै असन, इन्द्रचोक र न्युरोड क्षेत्रमा दशैं किनमेल गर्नेहरुको भिड थपिँदै गएपछि व्यवसायी उत्साही छन् । लामो समयदेखि दोकान कुरेरै बिताएका व्यवसायीहरु दशैंले आंसिक राहत दिएको बताउँछन् । ‘शनिबार र आइतबार राम्रै व्यापार भएको थियो । त्यसपछि छैन ।’ भोटाहिटीमा ७ वर्षदेखि रेडिमेड कपडाको व्यापार गर्दै आएका सुरेन्द्र भट्टले भने । बिगतका वर्षहरुमा दशैं आउनु १५ दिन अघि देखि नै भ्याइनभ्याई हुन्थ्यो । अहिले त्यस्तो चाप कुनै दिन पनि परेको छैन । ‘गएको शनिबार र आइतबार अलि चापाचाप भएको थियो । सोमबारदेखि ग्राहक घटेका छन् ।’ पसल अगाडी आवत जावत गर्नेहरुको भिड बढेपनि व्यापारमा प्रभाव नपरेको बताए । ‘बाटोमा मात्रै भिड हो, हाम्रो पसल खाली छ ।’ उनले भने ।

असन चोकमा जिरा, धनियालगायत मसलाजन्य वस्तुको व्यापार गर्दै आएका सुनिल महर्जन पनि यसपाली ग्राहकको भिडबिनै दशैं सकिने हो कि भन्ने चिन्तामा छन् । दशैं आउनु केही दिन अघि नै जिरा, धनियाको एक किलो, आधा किलोको प्याकेट बनाएर बसेका महर्जनले खिन्नता व्यक्त गर्दै भने ‘खै यसपाली खास व्यापार होला जस्तो छैन ।’

दशैं छेकोमै जिराको मूल्य बढेकाले ग्राहक कम भएको पनि भनिन्छ । तर, उनलाई मूल्य बढेको कारण ग्राहक घटेको विश्वास लाग्दैन । उनको अनुभवले भन्छ ‘महंगोका कारण हैन यसपाली मान्छेको फ्लो नै कम छ ।’ जिराको मूल्य बढेको विषयमा उपभोक्ता जानकार भएको भन्दै आफ्नोमा किन्न आउने मध्ये कसैले पनि मूल्य बढेको विषयमा गुनासो नगरेको बताए । ‘यदि मूल्य बढेकै कारण व्यापार कम हुने हो भने त किन्न आउने मान्छेले बार्गेनिङ गर्थे होला, केही भनेका छैनन्, जो आउँछन् हामीले भनेकै मूल्यमा किनेर लैजान्छन् ।’ मूल्य वृद्धिले असर नपारेको कुरा गर्दै भने ‘समग्रमा मूल्य बढेकोमा उपभोक्ता जानकार छन् ।’

इन्द्रचोकमा तन्ना बिक्री गर्दै आएका सलिम अन्सारी भने अहिलेको व्यापारबाट सन्तुष्ट छन् । ‘एक हप्तादेखि राम्रो व्यापार भएको छ ।’ ग्राहकको आगमन बढेकोमा खुसी देखिए । ग्राहकलाई विभिन्न थरिका तन्ना देखाउदै गरेका सलिमले फिक्स रेटमा दिँदा पनि मूल्यमा घटाउन खोज्ने ग्राहक देख्दा भने दिक्क लाग्ने कुरा गरे । ‘हामीले एकदमै थोरै मार्जिन राखेका सामान दिएका छौं । त्यसमा पनि घटाउन खोज्दा चित्त दुख्छ । त्यसो त आधा भन्दा बढी सामान सेलमा राखेका न्युरोडकै फेन्सी स्टोरका सुलभ आचार्य पनि व्यापार बढेकोमा सन्तुष्ट छन् । ‘एक हप्तादेखी ग्राहक क्रमश बढेका छन् । दशैंमा राम्रै व्यापार हुन्छ भन्ने लागेको छ ।’ उनले भने ।

सय रुपैयाँमै पाइन्छ सामान

न्युरोड, असन भोटाहिटीलगायत ठाउँ ठाउँमा सेलको बोर्ड झुण्डिएको देखिन्छ । १०० रुपैयाँमा जुनसुकै झुम्का, २५० मा २ वटा ब्रा, १०० मा ४ जोर मोजा, ३ सय ९० मा स्याण्डिल, ५०० मा टिसर्ट, २५० मा जिन्स पाइन्ट ।

थरि थरिका सामानको सेल लागेको छ । प्राय दोकानमा निश्चित सामान सेलमा राखेको देखिन्छ । जबकी विगतका वर्षमा यति धेरै सेल हुँदैन थियो । लामो समयदेखी स्याण्डिल व्यापार गर्दै आएका न्युरोडका श्याम महर्जनले सामान कटाउनकै लागि सेलमा सामान राखेको बताए । ‘यो सामान गोदाममा थन्क्याउनु भन्दा बिक्री भए नयाँ सामान हाल्न पाइन्छ भनेर सेलमा राखेको हुँ ।’ सेलमा सामान बिक्री भए पनि नाफा नहुने कुरा गरे ।

साहुजी आफैं कामदार

न्युरोड क्षेत्रका प्राय दोकानदारले एक दुई जना कामदार राखेकै हुन्थे । अहिले प्राय पसलमा काम गर्ने मान्छे देखिँदैनन् । ‘कोरोनाको बेला हटाएको कामदार राख्न सकेकै छैन । आफैंले काम गर्दै आएको छु ।’ न्युरोडमै फेन्सी पसल चलाउदै आएका नबिन गुरुङले भने । सिजनको समयमा तीन जनासम्म कर्मचारी राखेको जानकारी दिँदै उनी भन्छन् ‘ग्राहकको भिड भए न काम गर्ने मान्छे राख्ने हो । अहिले काम गर्ने मान्छे जरुरी नै छैन ।’

फूटपाथ हटेपछि व्यापार घट्यो

काठमाडौं मलदेखी न्युरोड गेटसम्म फूटपाथ व्यापार हुन्थ्यो । काठमाडौ महानगरपालिकाले फूटपाथमा व्यापार गर्न निषेध गरेपछि व्यापारको ग्राफ घटेको पसल सञ्चालकको भनाई छ । ‘फुटपाथमा बजार लाग्दा फुटपाथमा किन्ने मान्छेहरु पसलमा पनि छिर्थे । अहिले फूटपाथ नभएपछि मान्छे आउँनै कम भयो ।’ न्युरोड क्षेत्रमा पसल सञ्चालन गर्दै आएका एक दोकानदारले भने । अहिले फूटपाथमा व्यापार नहुँदा आम सर्वसाधारणलाई हिँडडुल गर्न भने निकै सहज भएको छ ।