Dhulikhel Eco Banner new

नेपालमा लगानीको अपार सम्भावना छ, उपयोग गर्नुस् : राष्ट्रपति

5.53K
shares

काठमाडौँ, ३० असोज । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ११औँ विश्व सम्मेलन, एनआरएनए अन्तर्राष्ट्रिय महासभा र तेस्रो एनआरएन ज्ञान विश्व सम्मेलन मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ ।

‘ज्ञान र रुपान्तरण, समृद्धिको आधार’ नारासहित सुरु भएको विश्व सम्मेलनको उद्घाटन गर्दैै राष्ट्रपति रामचन्द्र पौडेलले विश्वभर छरिएर रहेका नेपालीलाई एकताबद्ध गर्न एनआरएनएको महत्वपूर्ण भूमिका रहेको बताए ।

मुलुकमा राजनीतिक परिवर्तनपछि आर्थिक समृद्धिको बाटो समात्न ढिला भएको भन्दै उनले सङ्क्रमणकाल लामो समयसम्म रहँदा आर्थिक समृद्धिका विषय ओझेलमा परेको धारणा राखे । प्रशासनिक पुनःसंरचना भए पनि शासकीय शैली अझै पनि परिवर्तन नसकेको उनको भनाइ छ ।

‘नेपालमा आर्थिक समृद्धिका लागि पर्यटन, पूर्वाधार, सूचना तथा सञ्चार क्षेत्रमा लगानीको ठूलो सम्भावना छ’, राष्ट्रपति पौडेलले भने ‘हाम्रो छिमेकमा ठूलो बजार छ । नेपालमा लगानीको अपार सम्भावनाको उपयोग गर्नुहोस ।’

आर्थिक विकास लागि आवश्यक पूर्वाधार बनाउन बहुपक्षीय साझेदारीसहित विदेशमा रहेका नेपालीको ज्ञान, सीप, पुँजी र प्रविधि महत्वपूर्ण रहने राष्ट्रपति पौडेलको भनाइ छ ।

कार्यक्रममा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपालको आर्थिक समृद्धिको लक्ष्य पूरा गर्नका लागि गैरआवासीय नेपालीलाई आग्रह गरे । ‘नेपालमा लगानीका लागि स्रोतको अभाव छ’ उनले भने ‘नेपालमा लगानी गर्दा तपाइँहरुलाई सरकारले सहुलियत उपलब्ध गराउनेछ ।’

नेपाली वस्तु सेवाको विश्व बजारमा पहुँच स्थापित गर्न सरकार हातेमालो गर्न चाहेको उल्लेख गर्दै उनले ज्ञान हस्तान्तरण, युवा परिचालन र महिला सशक्तिकरणका लागि ‘डायस्पोरा’ सशक्त रुपमा अघि बढ्न आवश्यक रहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले गैरआवासीय नेपालीलाई नेपालका आयोजनामा लगानी गर्न आग्रह गरे । ‘नेपालमा लगानी गर्न पुराना र जटिल खालका नीतिगत र कानुनी संरचना छन् भने त्यसलाई परिमार्जन गरौँ । सम्भावनाको खोजी गरौँ र नेपालमै रोजगारी सिर्जना गर्ने वातावरण बनाऔँ’ उनले भने ।

एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपालको आर्थिक विकास र समृद्धिका लागि देशभित्रकै नागरिक जुटेमात्र विदेशबाट पनि सहयोग र समर्थन मिल्ने धारणा राखे । कार्यकारी अध्यक्ष डा बद्री केसीले विदेशमा रहेका नेपालीका केही समस्या रहेको उल्लेख गर्दै सरकारको समन्वयमा त्यस्ता समस्या समाधान गर्न सकिने बताए ।

उनले श्रम सम्झौता नभएको मुलुक इराकमा ३० हजारको सङ्ख्यामा नेपाली नागरिक काम गरिरहेको, अवैध बाटोबाट कुवेतमा महिला कामदार गइरहेको उल्लेख गर्नुभयो । विगतका वर्षमा नेपालमा लागानी गर्नका लागि कानुनी व्यवधान रहेकामा अहिले सहज हुँदै गएको उनको भनाइ थियो । अहिले सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानीको कम्पनी स्थापना भएकामा यसले विदेशमा रहेका नेपालीबाट ठूलो लगानी भित्रिने अपेक्षा गरे ।

एनआरएनएका अध्यक्ष कुल आचार्यले सरकारले गैरआवासीय नेपाली नागरिकता र सामाजिक सुरक्षा कोषको व्यवस्था गरेकामा धन्यवादज्ञापन गर्दै मताधिकारको सुनिश्चितताका लागि पनि आग्रह गरे ।