Dhulikhel Eco Banner new

अख्तियारले घुस मागेको विषयमा छानबिन गर्न बोलायो कर्णलाई

3.99K
shares

काठमाडौं, २३ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल राष्ट्र बैंकका सञ्चालक समितिका तत्कालीन सदस्य सुवोधकुमार कर्णलाई अनुसन्धानको लागि बोलाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक व्यापारिक घरानाका सदस्यसँग घुस मागेको विषयमा छानबिन गर्नका लागि कर्णलाई बोलाएको हो ।

अख्तियारले बुधबार गोरखापत्रमा सूचना जारी गरी कर्णलाई ३० दिनभित्र आयोगको कार्यालयमा उपस्थित हुन भनेको छ । सूचनामा ‘नेपाल राष्ट्र बैंकका सञ्चालक समितिका सदस्यले व्यवसायिक घराना सम्बद्ध व्यवसायीसँग घुस मागेको भन्ने उजुरीबारे अध्ययन गर्न’ भनी उल्लेख छ ।

नेपाल राष्ट्र बैंकको सञ्चालक समितिका तत्कालीन सदस्य कर्णमाथि चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीसँग घुस मागेको आरोप थियो । तत्कालीन सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको बेलामा यो घटना सार्वजनिक भएको थियो । हिमालखबरले त्यतिबेला प्रकाशित गरेको रिपोर्ट अनुसार नेपाल राष्ट्र बैंकमा रोकिएका दुई प्रमुख कामका लागि उनले रकम मागेका थिए ।

म्यासेजमार्फत ३० हजार डलर घुस मागेको आरोप लागेपछि अख्तियारमा समेत उजुरी परेको थियो ।