Dhulikhel Eco Banner new

वेलकम बहुउद्देश्यीय सहकारी उद्घाटन

10.67K
shares

काठमाडौं, २१ जेठ । काठमाडौं महानगरपालिका वडा नम्बर २१ नाय्पाचोमा वेलकम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको उद्घाटन गरिएको छ । भोटेबहाल क्षेत्रका व्यापारीहरुलाई लक्षित गरेर खोलिएको सहकारीको काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर विद्यासुन्दर शाक्यले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।

भोटेबहाल क्षेत्रमा सहकारी नभएको तथा पैसा जम्मा गर्नका लागि टाढाटाढा जानु पर्ने अवस्थामा यहाँका व्यापारीलाई लक्षित गरेर सहकारी स्थापना गरिएको संस्थाका अध्यक्ष श्याम महर्जनले जानकारी दिए । ‘यो क्षेत्रका व्यापारिले न्यूरोड तथा त्रिपुरेश्वर जानु पर्ने अवस्था रहेको छ, यो अवस्थालाई सहज बनाउनका लागि सहकारी संस्था खोलिएको हो,’ उनले भने ।

यो क्षेत्र व्यापारिक क्षेत्र भएकाले सहज रुपमा सहकारी सञ्चालन गर्न सकिने उनले बताए । अन्य सहककारी तथा बैंकहरुले रकम संकलन गरे तर त्यो रकम निकाल्नका लागि टाढा जानु पर्ने बाध्यता रहेको अवस्थामा व्यापारिलाई समस्या भएको कुरालाई पनि ध्यान दिएर सहकारी खोलिएको बताइएको छ । प्रतिष्ठित व्यक्तिहरुको सहभागितामा सहकारी खोलिएको अध्यक्ष महर्जनले बताए ।

जेष्ठ नागरिक तथा बालबालिकालाई लक्षित गरेर सहकारी खोलिएको र सहज सेवा प्रदान गर्ने लक्ष्यका साथ संस्थाले काम गर्ने संस्थाका प्रवन्धक सुदिप महर्जनले बताएका छन् । संस्थाले विभिन्न सेवा सुविधा सहित सेवा प्रवाह गर्ने उनले बताए । सहकारीले विभिन्न बचत खाता तथा मुद्दती बचत सहित ऋण प्रवाह सहितका सबै सेवा उपलब्ध गराउने प्रबन्धक महर्जनले जानकारी दिए ।

अहिले सहकारीमा बचत खाता अन्तगर्त दैनिक अवधि बचत खातामा ५.५ प्रतिशत, महिला बचत खातामा ७.५ प्रतिशत, साधारण बचत खातामा ४.५ प्रतिशत, व्यापारिक बचत खातामा ८ प्रतिशत, वेलकम बचत खातामा ८.५ प्रतिशत र वेलकम विशेष बचत खतामा ८.६ प्रतिशत ब्याजदर दिइने संस्थाले जनाएको छ । त्यस्तै मुद्दती खाता अन्तर्गत १,२ र ३ वर्षे मुद्दती खाता सञ्चालन गरिने बताइएको छ । जसमा एक वर्षका लागि १२, दुई वर्षका लागि १२.५ र तीन बर्षका लागि १३ प्रतिशत ब्याज तोकिएको छ । यो भन्दा धेरै समयको मुद्दती खातामा रकम जम्मा गर्दा आपसी समझदारीमा ब्याजदर निर्धाण गरिने बताइएको छ ।

संस्थाका सल्लाकार तथा नेपाल व्यापार संघका उपाध्यक्ष हरि गौतमले प्रतिष्ठित व्यक्तिहरुको सहभागितामा खोलिएको संस्था भएकाले सफल हुने बताएका छन् । नाफा कमाउनेभन्दा पनि सामाजिक उत्तरदायित्व बहन गर्दै सेवामूलक रुपमा संस्था अघि बढ्ने उनको भनाइ छ । संस्थाका अर्का सल्लाकार सरस्वती शाहले समाजलाई हित हुनेगरी अघि बढ्नु पर्ने र सोही अनुसारको आफूले सल्लाह दिने उनको भनाइ छ ।

कार्यक्रममा नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्की लगायतको उपस्थिति रहेको थियो ।