शेखर गोल्छा पक्राउपछि नाइमाको प्रतिक्रिया, ‘निजी क्षेत्रप्रति निष्पक्ष व्यवहार आवश्यक छ’
वि.सं.२०८३ वैशाख ११ शुक्रवार १७:५८
shares

काठमाडौं, ११ वैशाख । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आफ्नो बोर्ड सदस्य तथा वरिष्ठ उद्योगपति एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छासँग सम्बन्धित हालका घटनाक्रमप्रति ध्यानाकर्षण जनाएको छ।
नाइमाले यस्ता विषय अघि बढाउँदा सम्बन्धित व्यक्तिलाई आफ्नो पक्ष स्पष्ट गर्ने पर्याप्त अवसर दिनुपर्ने बताउँदै प्रक्रियागत स्पष्टता, सन्तुलन र निष्पक्षताको आवश्यकता औंल्याएको छ।
संस्थाले निजी क्षेत्रले मुलुकको अर्थतन्त्र, रोजगारी सिर्जना र राजस्व संकलनमा महत्वपूर्ण योगदान दिँदै आएको उल्लेख गर्दै, विश्वासको वातावरण सुदृढ गर्न राज्यले सकारात्मक र जिम्मेवार नीतिगत सन्देश दिनुपर्ने जनाएको छ।
नाइमा विधिको शासन, पारदर्शिता र निष्पक्षताको पक्षमा दृढ रहेको भन्दै कुनै पनि विषयमा तथ्यका आधारमा निष्पक्ष अनुसन्धान हुनु र कानुन उल्लङ्घन गर्ने जो–कोहीमाथि आवश्यक कारबाही हुनुपर्नेमा अडिग रहेको जनाएको छ।
तर पर्याप्त प्रमाणबिना कुनै पनि व्यक्तिमाथि निष्कर्षमा पुग्ने वा कठोर कदम चाल्ने कार्यले प्रणालीप्रतिको विश्वासमा असर पर्न सक्ने भएकाले सम्बन्धित निकायहरूले संवेदनशीलता अपनाउन नाइमाले आग्रह गरेको छ।



















