भृकुटीमण्डपमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सुरु, आठ देशको सहभागिता
वि.सं.२०८३ वैशाख २४ बिहीवार १५:५१
shares

काठमाडौं, २४ वैशाख । दक्षिण एसियाली देशहरूको व्यापार, उद्योग तथा सेवा क्षेत्रका अवसरलाई एकै थलोमा ल्याउने उद्देश्यसहित ‘साउथ एसिया ट्रेड फेयर २०२६’ बिहीबारदेखि राजधानीमा सुरु भएको छ।
मे ७ देखि ११ तारिख ९वैशाख २४ देखि २८० सम्म भृकुटीमण्डप प्रदर्शनी हल मा सञ्चालन हुने सार्कस्तरीय अन्तर्राष्ट्रिय व्यापार मेलालाई क्षेत्रीय व्यापार तथा लगानी प्रवर्द्धनको महत्वपूर्ण प्लेटफर्मका रूपमा हेरिएको छ।
मेलाको उद्घाटन नेपालका लागि रुवान्थी डेल्पिटिया, सफिक्वयर रहमान, नेपाल चेम्बर अफ कमर्स का कार्यबाहक अध्यक्ष दीपक मल्होत्रा तथा मेला संयोजक सुमन महर्जनले संयुक्त रूपमा गरेका हुन्।
आयोजकका अनुसार देशमा पछिल्लो समय सुस्त बनेको व्यापारिक गतिविधिलाई पुनः चलायमान बनाउन तथा निजी क्षेत्रलाई सक्रिय बनाउने उद्देश्यले मेला आयोजना गरिएको हो। विभिन्न आर्थिक चुनौतीबीच व्यवसायीहरू उत्साहपूर्वक मेलामा सहभागी भइरहेको जनाइएको छ।
इन्ट्रोडक्शन ट्रेड शोज नेपाल प्रालिद्वारा आयोजना गरिएको मेलामा बंगलादेशको उद्योग मन्त्रालय तथा एक्सपोर्ट प्रोमोसन ब्यूरोको सहकार्य रहेको छ। साथै भुटान सरकारको उद्योग, वाणिज्य तथा रोजगारी मन्त्रालयले मेलालाई इन्डोर्स गरेको छ।
मेलामा नेपाल, भारत, बंगलादेश, भुटान, पाकिस्तान, अफगानिस्तान, श्रीलंका र माल्दिभ्सलगायत देशहरूको सहभागिता रहने आयोजकले जनाएको छ। करिब १५० भन्दा बढी प्रदर्शक सहभागी हुने तथा झण्डै एक लाख स्थानीय अवलोकनकर्ता र पाँच हजार अन्तर्राष्ट्रिय तथा व्यावसायिक प्रतिनिधिको सहभागिता रहने अपेक्षा गरिएको छ।
मेलामा कपडा तथा रेडिमेड सामग्री, सौन्दर्य सामग्री, हस्तकला, कृषि उत्पादन, सूचना प्रविधि, घरेलु उपकरण, फर्निचर, सवारी साधन तथा पार्टपुर्जालगायत विभिन्न क्षेत्रका उत्पादन तथा सेवाहरू प्रदर्शनमा राखिएका छन्।
यसका साथै व्यापारिक भेटघाट, फुड फेस्टिवल, रक्तदान कार्यक्रम तथा मनोरञ्जनात्मक गतिविधिहरू समेत सञ्चालन गरिने जनाइएको छ। आयोजकले मेलामार्फत नेपालमा व्यापार विस्तार, निकासी प्रवर्द्धन तथा नयाँ लगानीका सम्भावना सिर्जना हुने विश्वास व्यक्त गरेका छन्।
















