पोखरा विश्वविद्यालय स्थापना दिवसमा साइबर सुरक्षा र सार्वभौम एआईबारे विशेष कार्यशाला
वि.सं.२०८३ साउन ४ सोमवार ०९:३३
shares

काठमाडौं, ४ साउन । पोखरा विश्वविद्यालय स्थापना दिवसको अवसरमा श्रमिक शान्ति क्याम्पसले विद्यार्थीहरूका लागि ूसाइबर सुरक्षामा एआई र सामाजिक प्रभावू विषयक विशेष कार्यशाला आयोजना गरेको छ। कार्यक्रम टेकपाइला इनोभेसन्सर साइबर सुरक्षा साझेदार वान कभर प्राइभेट लिमिटेड को सहकार्यमा सम्पन्न भएको हो।
कार्यक्रमको सभापतित्व श्रमिक शान्ति क्याम्पसका कार्यक्रम संयोजक फूलबाबु झाले गर्नुभएको थियो। उहाँले क्याम्पस सधैं उद्योग–सान्दर्भिक ज्ञानलाई कक्षाकोठामा भित्र्याउन प्रतिबद्ध रहेको उल्लेख गर्दै कार्यक्रमको सुरुआत गरे।
कार्यक्रमका प्रमुख अतिथि पोखरा विश्वविद्यालयका मानविकी तथा सामाजिक शास्त्र संकायका डिन एवं पूर्व रजिस्ट्रार अजय कुमार थापा थिए। उनले पोखरा विश्वविद्यालयको स्थापना, इतिहास र यसका मार्गदर्शक मूल्य–मान्यताबारे प्रकाश पार्दै उच्च शिक्षाले दक्ष जनशक्ति उत्पादनमार्फत राष्ट्र निर्माणमा दीर्घकालीन योगदान पुर्याउने धारणा राखे।
कार्यक्रमका मुख्य वक्ता क्यान महासंघ का कार्यवाहक अध्यक्ष तथा टेकपाइला इनोभेसन्सका एसोसिएट डाइरेक्टर चिरञ्जीवी अधिकारीले सार्वभौम एआईको अवधारणामाथि प्रस्तुति दिनुभयो। उहाँले नेपालजस्ता देशले विदेशी प्लेटफर्ममा मात्र निर्भर नबसी आफ्नै आर्टिफिसियल इन्टेलिजेन्स फ्रेमवर्क, डाटा पूर्वाधार र डिजिटल क्षमताको विकास तथा नियन्त्रणमा जोड दिनुपर्ने आवश्यकता औंल्याए।
प्रमुख अतिथि डिन अजय कुमार थापाले अधिकारीको प्रस्तुतिको प्रशंसा गर्दै एआई र साइबर सुरक्षामा ‘सीप–पहिलो’ क्षमताको विकासले नेपालको डिजिटल सुरक्षालाई मजबुत बनाउने र सकारात्मक सामाजिक प्रभाव सिर्जना गर्ने बताए।
कार्यक्रममा श्रमिक शान्ति क्याम्पसका पूर्व अध्यक्ष हरिकृष्ण बञ्जाङ्करको पनि उपस्थिति रहेको थियो। उहाँले क्याम्पसको विकास र आधुनिक शैक्षिक पहललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमको प्राविधिक सत्रमा एथिकल ह्याकर स्वागत अर्याल र प्रलिन बारामुले लाइभ फिसिङ डेमो प्रस्तुत गर्दै आधुनिक सामाजिक इन्जिनियरिङ आक्रमणका विधि तथा साइबर खतराको सिर्जना र प्रतिकारमा एआईको प्रयोगबारे जानकारी दिए। सत्रको अन्त्यमा विद्यार्थीहरूको सहभागितासहित प्राविधिक हाजिरीजवाफ प्रतियोगिता पनि सञ्चालन गरिएको थियो।
कार्यक्रमको समापन गर्दै सभापति फूलबाबु झाले सहयोगी संस्थाप्रति आभार व्यक्त गर्नुभयो। उहाँले विद्यार्थीहरूका लागि मेन्टरसिप, इन्टर्नसिप तथा उन्नत तालिम कार्यक्रम सञ्चालन गर्न टेकपाइला इनोभेसन्स र वान कभर प्राइभेट लिमिटेडसँग निकट भविष्यमै औपचारिक साझेदारी गर्ने क्याम्पसको योजना रहेको जानकारी दिए।



















