Dhulikhel Eco Banner new

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो फिफा विश्वकपको उपाधि

फेरान टोरेसको निर्णायक गोलमा स्पेन १–० ले विजयी, १६ वर्षपछि दोस्रोपटक विश्व च्याम्पियन

1.42K
shares

साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोल अन्तरले पराजित गर्दै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ।

अमेरिकाको न्युजर्सीस्थित न्युयोर्क–न्युजर्सी स्टेडियममा आइतबार सम्पन्न प्रतिस्पर्धात्मक फाइनलमा स्पेनका फेरान टोरेसले गरेको एकमात्र गोल निर्णायक बन्यो। निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। टोरेसले अतिरिक्त समयको १०६औँ मिनेटमा गोल गर्दै स्पेनलाई विश्वकपको उपाधि दिलाए।

निर्धारित समयको अन्त्यतिर अर्जेन्टिनाका मिडफिल्डर एन्जो फर्नान्डेज दोस्रो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भएको थियो। त्यसको फाइदा उठाउँदै स्पेनले अतिरिक्त समयमा दबाब बढाएको थियो।

अर्जेन्टिनी गोलरक्षक एमिलियानो मार्टिनेजले स्पेनका थुप्रै प्रयास विफल पारे पनि टोरेसको नजिकबाट प्रहार गरिएको निर्णायक गोल रोक्न सकेनन्। त्यसपछि अर्जेन्टिनाले खेलमा फर्किने प्रयास गरे पनि गोल गर्न नसक्दा उपाधि रक्षा गर्ने उसको सपना समाप्त भयो।

यस जितसँगै स्पेनले आफ्नो इतिहासमा दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ। स्पेनले यसअघि सन् २०१० मा पहिलोपटक विश्वकप जितेको थियो। उसले १६ वर्षपछि विश्व फुटबलको प्रतिष्ठित उपाधि पुनः आफ्नो नाममा लेखाएको हो।

उता, सन् २०२२ को विश्वविजेता अर्जेन्टिना लगातार दोस्रोपटक विश्वकप जित्ने लक्ष्यमा असफल भएको छ। कप्तान लियोनल मेसीको नेतृत्वमा मैदान उत्रिएको अर्जेन्टिनाले रक्षात्मक रूपमा बलियो प्रदर्शन गरे पनि स्पेनविरुद्ध गोलको अवसर सिर्जना गर्न सकेन।

अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको विश्वकपको फाइनल जित्दै स्पेनले युरोपेली फुटबलमा आफ्नो प्रभुत्वलाई विश्वमञ्चमा समेत प्रमाणित गरेको छ।