१४औँ स्थापना दिवसमा वृक्षारोपण गर्दै नेत्रज्योति कृषि सहकारीको साधारण सभा सम्पन्न
वि.सं.२०८३ साउन १० आइतवार १५:१८
shares

काठमाडौं, १० साउन । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१४ स्थित नेत्रज्योति कृषि सहकारी संस्था लिमिटेडले आफ्नो १४औँ स्थापना दिवसको अवसरमा वृक्षारोपण तथा वार्षिक साधारण सभा सम्पन्न गरेको छ।
स्थापना दिवसको अवसरमा वडा नं। १४ स्थित थानबारेगढी जन्मोत्सव पार्क–घमानेडाँडामा बर र पीपलका बिरुवा रोपेर कार्यक्रमको शुभारम्भ गरिएको थियो। नगर प्रमुख कृष्णप्रसाद सापकोटा र वडा अध्यक्ष उद्धव नेपालले संयुक्त रूपमा बिरुवा रोपेर कार्यक्रम उद्घाटन गरेका थिए।
कार्यक्रममा नगर प्रमुख कृष्णप्रसाद सापकोटाले सहकारी स्थानीय आर्थिक समृद्धिको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन सहकारीको भूमिका उल्लेखनीय रहेको बताए। उनले उत्पादन, उत्पादकत्व र बजार व्यवस्थापनमा सहकारीले अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
विशेष अतिथि वडा अध्यक्ष उद्धव नेपालले विगत १४ वर्षदेखि स्थानीय कृषि विकासमा सहकारीले खेलेको भूमिका प्रशंसनीय रहेको बताउँदै आगामी दिनमा पनि सदस्यमुखी र नवीन कार्यक्रम सञ्चालन गर्न आग्रह गरे।
कार्यक्रममा जिल्ला बार इकाइ सिन्धुपाल्चोकका अध्यक्ष भूपेन्द्र थिङ, नेपाल राष्ट्रिय वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष जनक गिरी, जनमिलन बचत तथा ऋण सहकारीका अध्यक्ष शेरबहादुर श्रेष्ठ तथा जनहित दुग्ध उत्पादन सहकारीका अध्यक्ष बद्रीप्रसाद नेपाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
वक्ताहरूले सहकारीमा सुशासन, पारदर्शिता, कानुनी अनुशासन, कृषि उत्पादनसँगै वातावरण संरक्षण र सहकारीबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।
साधारण सभामा आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रगति प्रतिवेदन, आय–व्यय विवरण तथा आगामी आर्थिक वर्षका कार्यक्रम र योजना प्रस्तुत गरिएको थियो। प्रतिवेदनमाथि सदस्यहरूबीच छलफल गर्दै कृषि तालिम, उत्पादनको बजारीकरण तथा सदस्यहरूको क्षमता विकासमा थप ध्यान दिन सुझाव दिइएको थियो।
वि।सं। २०६९ मा स्थापना भएको नेत्रज्योति कृषि सहकारीले स्थानीय कृषकलाई संगठित गर्दै कृषि उत्पादन, आयआर्जन तथा सहकारी अभियानलाई सुदृढ बनाउन निरन्तर काम गर्दै आएको जनाएको छ।
कार्यक्रममा सहकारीका अध्यक्ष कृष्णबहादुर नेपालको अध्यक्षता, सचिव धनकुमार नेपालको स्वागत मन्तव्य तथा व्यवस्थापक नेत्रबहादुर बस्नेतको सञ्चालन रहेको थियो। कोषाध्यक्ष सीता बानियाँ र सदस्य रेखा नेपालले अतिथिहरूलाई स्वागत गरेका थिए।
यस अवसरमा बाँझो जमिनमा खेती गरी उदाहरणीय कार्य गरेका कृषक रामबहादुर सार्की, चोकबहादुर बस्नेत तथा राम्चे सामुदायिक वनका अध्यक्ष बलराम बस्नेतलाई सम्मान गरिएको थियो।
तातोपानी नाका सडक अवरुद्ध हुँदा सरकारको ध्यानाकर्षण गराउन उद्योग वाणिज्य संघको आग्र चौतारा, साउन । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले तातोपानी नाका आवतजावत गर्ने सडक लामो समयदेखि अवरुद्ध हुँदा सरकारको ध्यानाकर्षण गराएको छ।
संघका अध्यक्ष बुद्धराज बस्नेतले विज्ञप्ति जारी गर्दै समयमै सडक सञ्चालनका लागि आवश्यक पहल गर्न सरकारसँग माग गरेका हुन्। उनका अनुसार तातोपानी भन्सारबाट दैनिक ठूलो परिमाणमा राजस्व संकलन हुने भए पनि सडक अवरुद्धका कारण भन्सारको वार्षिक लक्ष्य प्रभावित भइरहेको छ।
असार ३१ गते भोटेकोशी गाउँपालिका–२ स्थित इको क्षेत्रमा गएको पहिरोका कारण सडक अवरुद्ध भएपछि तीन घरमा क्षति पुगेको छ भने करिब ६० घर उच्च जोखिममा रहेका छन्। यसका साथै १५० भन्दा बढी मालवाहक कन्टेनर राजधानी प्रवेश गर्न नसकी रोकिएका छन्। फलफूललगायतका सामग्री बोकेका सवारीसाधनसमेत सडकमै रोकिँदा व्यवसायीहरू मर्कामा परेको संघले जनाएको छ।
राजस्व संकलनका हिसाबले मुलुककै प्रमुख नाकामध्ये एक तातोपानी नाकाको सञ्चालन प्रभावित हुँदा पनि सरकारले आवश्यक चासो नदिएको संघको आरोप छ।
अध्यक्ष बस्नेतले विगतका वर्षहरूमा पनि सडक अवरुद्ध हुँदा उद्योग वाणिज्य संघ, हिमालय सीमापार तथा ट्रक कन्टेनर व्यवसायी संघले आफ्नै पहलमा सडक खुलाउने प्रयास गर्दै आएको उल्लेख गर्दै यसपटक सरकारले शीघ्र स्थायी समाधान गर्नुपर्ने माग गरेका छन्।


















