Dhulikhel Eco Banner new

१८औँ नाडा अटो शोमा गाडीका साथै अटोमोबाइल उद्योगका सबै पक्ष

559
shares

काठमाडौं, ७ भदौ । भदौ ९ गतेदेखि भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ मा गाडीका साथै अटोमोबाइल उद्योगसँग जोडिएका पार्ट्स, उपकरण, वित्तीय सेवा र बीमासमेत प्रदर्शन गरिने भएको छ।

करिब तीन लाख वर्गफिट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा दुई सयभन्दा बढी स्टल रहनेछन्। २३ यात्रुवाहक, १७ हल्का व्यावसायिक र १३ दुईपाङ्ग्रे गरी ५३ सवारी ब्रान्ड सहभागी हुनेछन्।

प्रदर्शनीमा करिब ७० कम्पनीले टायर, ब्याट्री, इन्जिन आयल, हेल्मेट, फिल्टर, डाइग्नोस्टिक उपकरण, जीपीएस, एसेसरिज तथा ईभी चार्जिङ उपकरण प्रदर्शन गर्नेछन्। करिब १० बैंक, वित्तीय संस्था र बीमा कम्पनीले अटो लोन, बीमा तथा विद्युतीय सवारीका लागि विशेष वित्तीय योजना ल्याउनेछन्।

नाडाले प्रदर्शनीलाई चारपाङ्ग्रे, दुईपाङ्ग्रे, वित्तीय संस्था, अटो पार्ट्स तथा ग्यारेज उपकरणका छुट्टाछुट्टै क्षेत्रमा विभाजन गरेको छ।

यसपटक स्कोडा, प्रोटोन, चेरीका ओमोडा तथा जेकु, जीडब्ल्यूएमलगायत जापानी, भारतीय, कोरियाली, चेक, मलेसियाली र चिनियाँ ब्रान्ड सहभागी हुँदैछन्। विदेशी कम्पनीका लागि ‘इन्टरनेसनल बिजनेस प्याभिलियन’ र स्वदेशी उत्पादन तथा एसेम्बलीका लागि ‘मेड इन नेपाल / मेड फर नेपाल’ प्याभिलियन राखिएको छ।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले अटो शोमा गाडी मात्र नभई गाडीलाई वर्षौंसम्म सञ्चालनमा राख्ने सम्पूर्ण उद्योग पनि देखिनुपर्ने बताए।

पाँच दशकअघि एउटा कोठाबाट सुरु भएको नेपालको अटोमोबाइल प्रदर्शनी अहिले तीन लाख वर्गफिटसम्म विस्तार हुनु उद्योगको बढ्दो आकार र विविधताको प्रमाण भएको आयोजकको भनाइ छ।