Dhulikhel Eco Banner new

ऊर्जा दक्ष उद्योगलाई राष्ट्रिय वाणिज्य बैंकद्वारा पहिलोपटक अनुदान वितरण

2.38K
shares

काठमाडौं, २ साउन । ऊर्जा बचत प्रवर्द्धन र दिगो औद्योगिक अभ्यासलाई प्रोत्साहन गर्ने उद्देश्यसहित राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले पहिलो चरणको आर्थिक अनुदान वितरण सम्पन्न गरेको छ। साउन १ गते काठमाडौंस्थित बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा ऊर्जा दक्षता अपनाएका १० उद्योगलाई करिब २९ करोड रुपैयाँ बराबरको अनुदान वितरण गरिएको हो।

ऊर्जा परीक्षण (अडिट) मार्फत पहिचान गरिएका ऊर्जा बचत उपायहरू कार्यान्वयन गरेपछि ती उद्योगहरूले आजीवन करिब ३६ हजार ७ सय ८८ मेगावाट घण्टा ऊर्जा बचत गर्ने अनुमान गरिएको छ। यसले नेपालको जलवायु प्रतिबद्धता, वातावरणीय संरक्षण र दिगो औद्योगिक विकासमा उल्लेखनीय योगदान पुर्‍याउने विश्वास गरिएको छ।

उक्त अनुदान कार्यक्रम नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रम – हरित पुनःस्थापन तथा ऊर्जा सशक्तिकरण नेपालमाू अन्तर्गत सञ्चालन गरिएको हो, जसमा युरोपेली संघ र जर्मन संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालयको संयुक्त लगानी रहेको छ।

कार्यक्रमले ऊर्जा बचत गर्न सक्ने सम्भावना भएका उद्योगहरूलाई प्रमाणित ऊर्जा परीक्षणकर्ताबाट सिफारिस गरिएका सुधारात्मक उपायहरू कार्यान्वयन गर्न प्रोत्साहित गर्दै आंशिक अनुदान उपलब्ध गराउँछ। यसले हरित वृद्धि, रोजगारी सृजना र वातावरणीय मापदण्डको पालना गर्ने उद्योग संस्कृतिको विकासमा योगदान दिन्छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले कार्यक्रमलाई सम्बोधन गर्दै बैंक दिगो वित्तीय प्रणाली र हरित अर्थतन्त्रप्रति प्रतिबद्ध रहेको बताए। उनले ऊर्जा दक्षता प्रवर्द्धनमार्फत बैंकले निजी क्षेत्रलाई दिगो बाटोमा अघि बढ्न सघाइरहेको उल्लेख गरे।

कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका निर्देशक रुद्र खनाल, युरोपेली संघ, जर्मन दूतावास तथा जिआइजेड नेपालका प्रतिनिधिहरू, ऊर्जा विज्ञहरू, निजी क्षेत्रका संघ संस्थाका प्रतिनिधिहरू तथा उद्योगीहरूको उपस्थिति रहेको थियो।

यस अनुदानले देखाएको उदाहरणका आधारमा आगामी दिनमा ऋण र मिश्रित वित्तमार्फत थप परियोजना कार्यान्वयन गर्ने तयारीसमेत बैंकले गरेको छ। यसबाट थप उद्योगहरू ऊर्जा दक्षतामुखी बन्ने र देशको दिगो विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।