सामसङ ग्यालेक्सी वाच८ सिरिज नेपालमा सार्वजनिक, स्वास्थ्य र स्मार्ट जीवनशैलीलाई बनाउँदै अझ सहज
वि.सं.२०८२ साउन १६ शुक्रवार १२:०३
shares

काठमाडौं, १६ साउन । सामसङले नेपाली बजारमा आफ्नो नयाँ पुस्ताको स्मार्ट वाच ग्यालेक्सी वाच८ सिरिज सार्वजनिक गरेको छ। उक्त सिरिजले दैनिक जीवनलाई अझ सहज बनाउने, स्वास्थ्य निगरानीलाई उन्नत बनाउने र स्मार्ट कनेक्टिभिटीको अनुभव दिने उद्देश्यसाथ प्रस्तुत गरिएको हो।
कम्पनीका अनुसार ग्यालेक्सी वाच८ सिरिज आधुनिक डिजाइन, अत्याधुनिक प्रविधि र प्रयोगकर्तामैत्री विशेषताहरूले भरिपूर्ण छ। यो वाच सिरिज खासगरी दिनभरि लगाउन मिल्ने, हलुका, स्टाइलिस र स्वास्थ्यमा केन्द्रित भएर निर्माण गरिएको छ। यसले स्मार्ट वेरेबल प्रविधिमा नयाँ सम्भावनाको ढोका खोलेको छ।
उक्त सिरिजमा प्रयोग भएको अपग्रेड गरिएको बायोएक्टिभ सेनसर मार्फत प्रयोगकर्ताको स्वास्थ्य सम्बन्धी विवरणहरू अझ प्रष्ट र सूक्ष्म रूपमा ट्र्याक गर्न सकिने छ। यसमा सुत्ने समयको सुझाव दिने सुविधा पनि समावेश गरिएको छ । प्रयोगकर्ताको सर्केदीयन् रिदम विश्लेषण गरी कहिले सुत्दा बिहान ताजगीसाथ उठ्न सकिन्छ भन्ने सल्लाह दिन्छ।
यस वाचमा रहेको रनिंग कोच ले दौड अभ्यासका क्रममा वास्तविक समयमा सुझाव दिई तपाईंको प्रदर्शन सुधार गर्न सहयोग पुर्याउँछ। त्यसैगरी, शरीरमा रहेको क्यारोटेनोइड स्तर छिटो जाँच्न सकिने भएकाले स्वस्थ जीवनशैली र उमेरसँग सम्बन्धित निर्णयहरू सजिलै लिन सकिने सुविधा पनि यसमा उपलब्ध रहेको जनाएको छ ।
सामसङले यो वाचमा जेमिनी एआईको सहायता समावेश गर्दै वाचलाई भोइस कमान्डमार्फत नियन्त्रण गर्न सकिने बनाएको छ। सामसङ हेल्थ जस्ता एपहरूमार्फत अपडेट लिनु, मेसेज पठाउनु वा व्यायाम सुरु गर्नुजस्ता कार्यहरू अब आवाजकै माध्यमबाट गर्न सकिनेछन्।
कम्पनीका अनुसार ग्यालेक्सी वाच८ सिरिजको डिजाइन पनि विशेष आकर्षक र आरामदायी बनाइएको छ। पहिलेभन्दा पातलो र हलुका भएको यो वाच स्टाइल र सुविधा दुवैमा ध्यान दिँदै बनाइएको हो। यसको मेटल फ्रेम र छालालाई नझ्याप्ने ब्यान्डले लामो समयसम्म प्रयोग गर्दा पनि कुनै असहजता महसुस हुँदैन। यो वाच कार्यालयदेखि व्यायाम र दैनिक कार्यहरूमा समेत सहज रूपमा लगाउन मिल्ने खालको बनाइएको छ।
सामसङले ग्यालेक्सी वाच८ सिरिज अन्तर्गत विभिन्न मोडेल र साइज सार्वजनिक गरेको छ। ग्यालेक्सी वाच८ क्लासिक मोडेल ४६ एमएम साइजमा ह्वाइट रङमा उपलब्ध छ, जसको मूल्य रु ७४ हजार ९९९ तोकिएको छ। ग्यालेक्सी वाच८ मोडेलको ४० एमएम साइज ग्राफाइट रङमा रु ५४ हजार ९९९ मा उपलब्ध छ भने ४४ एमएम साइज ग्राफाइट र सिल्भर दुवै रङमा पाइन्छ, जसको मूल्य रु ५९ हजार ९९९ निर्धारण गरिएको छ।
ग्यालेक्सी वाच८ सिरिज स्वास्थ्यप्रेमी, प्रविधि मन पराउने र व्यस्त जीवनशैली अपनाउने सबै वर्गका प्रयोगकर्ताहरूका लागि उपयुक्त हुने गरी निर्माण गरिएको सामसङको दाबी छ। यो वाचले प्रयोगकर्तालाई स्वस्थ रहन, जोडी रहन र जीवनलाई सन्तुलित बनाउने दिशामा सहयोग पुर्याउनेछ।

















