गोरखामा जडीबुटी संकलनबाट २० लाखभन्दा बढी राजस्व संकलन
वि.सं.२०८२ साउन १६ शुक्रवार ११:५३
shares

काठमाडौं, १६ साउन । जडीबुटी संकलनबाट गोरखामा गत आर्थिक वर्षमा २० लाख १६ हजार ४०४ राजस्व दाखिला भएको छ । गत आव विभिन्न गाउँपालिकामा संकलन तथा निकासी भएका ४६ हजार ९७४ केजी जडीबुटीबाट डिभिजन वन कार्यालय र मनास्लु संरक्षण क्षेत्र आयोजनाले उक्त रकम प्राप्त गरेका हुन् ।
मनास्लु क्षेत्रभित्र मात्र ११ हजार ३९२ केजी जडीबुटी संकलन तथा निकासी भएको आयोजना कार्यालयले जनाएको छ । आयोजनाले १२ लाख ७० हजार ४१९ राजस्व संकलन भएको जनाएको छ । गत आव ३४ दशमलव १९ केजी यार्सागुम्बाबाट १० लाख ८९ हजार ८९० राजस्व संकलन भएको कार्यालयका प्रमुख सन्तोष शेरचनले बताए ।
मनास्लु क्षेत्रमा बुकीफूल, पदमचाल, रातोच्याउ, निर्मसी, टुकीफूल, टिमुर, धुपी, सुनपाती, सेतक्चिनी, गुलाफ, जिम्बु, चिराइतोलगायत जडीबुटीबाट राजस्व संकलन गरिएको हो ।
गत आव मनासलु क्षेत्रबाहेकका अन्य वनक्षेत्रबाट संकलित ३५ हजार ५८२ केजी जडीबुटीबाट डिभिजन वन कार्यालयले सात लाख रु ४५ हजार ९८५राजस्व संकलन गरेको जनाएको छ । कार्यालयले सबैभन्दा धेरै जटामसीबाट रु तीन लाख ५६ हजार २५० संकलन गरेको छ ।

















