Dhulikhel Eco Banner new

शाओमीका तीन नयाँ आधिकारिक सर्भिस सेन्टर हेटौँडा, दमौली र बिर्तामोडमा सञ्चालनमा

3.64K
shares

काठमाडौं, १ पुस । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नेपालमा आफ्ना ग्राहक सेवाको पहुँच विस्तार गर्दै हेटौँडा, दमौली र बिर्तामोडमा तीन नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। मंसिर २६, २७ र २९ गते क्रमशः उद्घाटन भएका यी सर्भिस सेन्टरहरू रमेश कर्प अन्तर्गत टेलिडाइरेक्ट प्रा. लि. द्वारा सञ्चालन गरिनेछन्।

नयाँ सर्भिस सेन्टरमार्फत शाओमीका स्मार्टफोन, वेअरएबल्स स्मार्टवाच, फिटनेस ब्यान्ड तथा हियरएबल्स इयरफोन, हेडफोन लगायतका उपकरणहरूको मर्मत तथा प्राविधिक सहयोग प्रदान गरिने कम्पनीले जनाएको छ। सबै केन्द्रमा जेनुइन स्पेयर पार्ट्स र शाओमीका आधिकारिक मर्मत प्रक्रिया अपनाइने भएकाले ग्राहकले भरपर्दो र गुणस्तरीय सेवा पाउने विश्वास लिइएको छ।

सर्भिस सेन्टर सञ्चालनको अवसरमा कम्पनीले उद्घाटन मितिदेखि एक महिनासम्म विशेष सुविधा पनि उपलब्ध गराउने घोषणा गरेको छ। यसअन्तर्गत ग्राहकहरूले सबै उपकरणको निःशुल्क सर्भिसिङ र सफ्टवेयर अपग्रेड, वारिन्टीबाहिरका स्पेयर पार्ट्स तथा मर्मत सेवामा २५ प्रतिशतसम्म छुट, साथै वारिन्टीबाहिरका स्पेयर पार्ट्समा सर्भिस शुल्क नलाग्ने सुविधा प्राप्त गर्नेछन्।

शाओमी नेपालका प्रतिनिधिले हेटौँडा, दमौली र बिर्तामोडमा एकैसाथ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याउन पाउँदा खुशी व्यक्त गर्दै यसले नेपाली उपभोक्तालाई अझ सहज र विश्वासयोग्य सेवा उपलब्ध गराउने बताएका छन्। टेलिडाइरेक्टसँगको सहकार्यले सेवाको गुणस्तर र पहुँच दुवै थप सुदृढ हुने उनको भनाइ छ।

शाओमी नेपालका अनुसार, यी तीनै सर्भिस सेन्टरमा दक्ष प्राविधिकहरू नियुक्त गरिएका छन्, जसले साधारण समस्या समाधानदेखि जटिल प्राविधिक मर्मतसम्म कम्पनीका आधिकारिक मापदण्डअनुसार सेवा प्रदान गर्नेछन्। ग्राहकहरूले तत्काल सेवा तथा परामर्शका लागि नजिकैको सर्भिस सेन्टरमा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ।