Dhulikhel Eco Banner new

बैंकका कर्मचारीमाथि आक्रमण गर्नेहरुलाई कडा कारबाही गर्नुपर्ने वित्तीय क्षेत्रका चार संगठनको माग

3.77K
shares

काठमाडौं, १ पुस । बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूको छाता संगठनहरूले ज्योति विकास बैंकका कर्मचारीमाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्।

नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ तथा नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गर्दै ज्योति विकास बैंकका कर्मचारीहरूमाथि भएको आपराधिक घटनाको घोर निन्दा गरेका हुन्।

विज्ञप्तिअनुसार ज्योति विकास बैंकको रुपनी शाखाका ऋणी सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्म प्रा।लि।का सञ्चालक ऋणीहरूले कर्जाको किस्ता नियमित गर्ने विषयमा परामर्शका लागि बोलाई बैंकको क्षेत्रीय कार्यालय बर्दिवासका कर्मचारीहरूलाई आफ्नो नियन्त्रणमा लिई नियोजित रूपमा दुर्व्यवहार तथा आक्रमण गरेका थिए। उक्त घटनालाई संगठनहरूले गम्भीर आपराधिक कार्यका रूपमा लिएका छन्।

संगठनहरूले नियामक निकायबाट जारी नीति तथा निर्देशन र प्रचलित ऐन–कानूनको पालना गर्दै निक्षेप संकलन, कर्जा प्रवाह तथा वित्तीय सेवा प्रदान गर्दै आएका बैंक तथा वित्तीय संस्थाहरू पछिल्लो समय अराजक गतिविधिको निशानामा पर्न थालेकोप्रति चिन्ता व्यक्त गरेका छन्।

कर्जा असुली बैंकको कानुनी जिम्मेवारी भएको र निक्षेपकर्ताको बचत सुरक्षित गर्नु बैंक तथा वित्तीय संस्थाको प्रमुख उद्देश्य भएको उल्लेख गर्दै, नियमित असुली प्रक्रियाका क्रममा कर्मचारीहरूले यस्तो अमानवीय व्यवहार भोग्नुपर्नु सम्पूर्ण बैंकिङ प्रणाली तथा ग्राहक वर्गका लागि गम्भीर चिन्ताको विषय भएको विज्ञप्तिमा भनिएको छ। यस्ता घटनाले बैंकिङ सेवा प्रयोगमा निरुत्साह पैदा गर्नुका साथै नियामक निकाय तथा कानूनले दिएको अधिकार प्रयोग गर्नसमेत बाधा पुर्‍याएको जनाइएको छ।

असुली प्रक्रिया वा धितो लिलामीप्रति असहमति भए कानुनी बाटो अवलम्बन गर्न सकिने व्यवस्था हुँदाहुँदै कानून आफ्नै हातमा लिई गरिएको हिंसात्मक गतिविधिको संगठनहरूले कडा निन्दा गरेका छन्। बैंकले आम निक्षेपकर्ताको रकमबाट प्रवाह गरेको ऋण असुलीका लागि संवाद गर्न जाँदा कर्मचारीहरूको ज्यानै लिने मनसायले गरिएको सुनियोजित आक्रमण भएको दाबीसमेत विज्ञप्तिमा गरिएको छ।

घटना घटेकै दिन सम्बन्धित निकायलाई जानकारी गराइए पनि तत्काल सम्बोधन हुन नसकेको तथा विज्ञप्ति सार्वजनिक हुँदासम्म पनि जाहेरी दर्ता नहुनु अत्यन्त खेदजनक भएको उल्लेख गर्दै संगठनहरूले स्थानीय प्रहरी प्रशासनको भूमिकाप्रति गम्भीर असन्तोष व्यक्त गरेका छन्। यथाशीघ्र अपराधीलाई कानुनी दायरामा ल्याई कडा भन्दा कडा कारबाही गर्न उनीहरूको माग छ।

साथै, बैंक तथा वित्तीय संस्थाप्रति भइरहेका अराजक गतिविधिलाई निरुत्साहित गर्न सजग र जिम्मेवार रहन संगठनहरूले सम्पूर्ण जनमानसमा अनुरोध गरेका छन्।