शैक्षिकसत्र सुुरु भयो, किताबको अभाव
वि.सं.२०७९ जेठ १३ शुक्रवार १३:१९
shares

काठमाडौं, १३ जेठ । समयमा पाठ्यपुस्तक प्राप्त नहुँदा उदयपुरको विद्यालयमा पठनपाठनमा समस्या भएको छ ।
नयाँ शैक्षिकसत्र सुरुआत भएसँगै अहिले जिल्लाको विद्यालयमा भर्ना अभियान जारी छ । भर्ना भएका बालबालिकाको हातमा अध्ययन गर्ने पाठ्यपुस्तक प्राप्त हुन नसक्दा पठनपाठनमा समस्या भएको हो । बालबालिका विद्यालय पुगेर उपस्थित भई घर फर्किन थालेका छन् ।
जिल्लाको उत्तरी क्षेत्रको लिम्चुङबुङ गाउँपालिका–४ बलाम्ताको पर्शुरामपद्मा माविका कक्षा १० मा अध्ययनत छात्र छात्राले किताब नभएको गुनासो गरे । जिल्ला सदरमुकाम गाईघाटमा पुस्तक लिन उनीहरु भन्छन् “विद्यालयमा पठनपाठन सुरु भइसक्यो । पुस्तक लिन गाईघाट आयौं । तर कहीँ पाइएन ।”
जिल्लाका केही निजी विद्यालयमा भने ६० प्रतिशत पाठ्यपुस्तक उपलब्ध भइसकेको भए पनि सरकारी विद्यालयमा भने पाठ्यपुस्तक प्राप्त गर्न नसकेको शिक्षक तथा विद्यार्थीको गुनासो छ ।
बालमन्दिर मावि गाईघाट बोक्सेका प्राचार्य जङ्गबहादुर खड्का भन्छन् “नयाँ शैक्षिकसत्र सुरु भयो । स्थानीय तहको निर्वाचनका कारण केही दिन विद्यालय बन्द भए । अब सञ्चालन हुन थालेका छन् । विद्यालयमा पाठ्यपुस्तक प्राप्त हुन नकसकेको कारण पठनपाठनमा समस्या भएको छ ।”
















