Dhulikhel Eco Banner new

साउनमा झन्डै २ अर्ब रुपैयाँको बिजुली भारत निर्यात

4.89K
shares

काठमाडौं, ५ भदौ । नेपालले चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो महिनामा करिब दुई अर्ब रुपैयाँको बिजुली भारत निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले चालु आवको पहिलो महिनामा १ अर्ब ८३ करोड ८८ लाख ७६ हजार रुपैयाँको बिजुली निर्यात गरेको हो ।

प्राधिकरणले देशभित्र खपत गरी बढी भएको २४ करोड २६ लाख ८३ हजार युनिट बिजुली साउनमा भारत निर्यात गरेको हो । प्राधिकरण बिजुली निर्यातबाट साउनमा औसतमा दैनिक पाँच करोड ९३ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । प्रााधिकरणले देशभित्र खपत गरी बाँकी भएको वर्षायामको बिजुली गएको जेठ १९ गतेदेखि इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो ।

सुरुमा दुई वटा विद्युत् गृहको ३९ मेगावाट उत्पादित बिजुलीलाई स्रोत मानी दैनिक रूपमा आईएक्समा बिक्री गरिएको थियो । त्यसपछि जेठ २७ गतेदेखि दैनिक रूपमा ६ वटा जलविद्युत् गृहबाट उत्पादित बिजुलीलाई स्रोत मानी दैनिक रूपमा तीन सय ६४ मेगावाट विजुली भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ ।

गएको आव २०७८÷७९ मा तीन अर्ब ८८ करोड रुपैयाँको बिजुली निर्यात भएको थियो । ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत बिजुली निर्यात भइरहेको छ । गएको आवमा प्राधिकरणको सौर्य प्लान्ट, माथिल्लो तामाकोशी र निजी क्षेत्रका जलविद्युत् तथा सौर्य आयोजनाको कुल सात सय ३५ मेगावाट विद्युत् प्रणालीमा थप भएको थियो ।

प्राधिकरणले देशभित्र खपत गरी बाँकी रहेको वर्षायामको थप एक सय ११ मेगावाट बिजुली आईएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीको प्रस्ताव गरेको छ । प्राधिकरणले चार वटा जलविद्युत् गृहबाट उत्पादित बिजुलीलाई स्रोत मानी आईएक्समा प्रतिस्पर्धाबाट बिक्रीका लागि भारत सरकारको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणमा अनुमतिका लागि प्रस्ताव पेस गरेको हो । केन्द्रीय विद्युत् प्राधिकरणबाट अनुमति पाएपछि थप बिजुली निर्यात सुरु हुने छ ।