पश्चिम सेती र सेती नदी–६ को बिजुली बिक्री गर्न एनएचपीसी र पीटीसीबीच एमओयु
वि.सं.२०७९ भदौ १५ बुधवार १४:३३
shares

काठमाडौं, १५ भदौ । पश्चिम सेती र सेती नदी–६ को बिजुली बिक्री गर्न एनएचपीसी इन्डिया लिमिटेड र पावर ट्रेडिङ कम्पनी पीटीसी इन्डियाबीच समझदारी पत्र (एमओयु)मा हस्ताक्षर भएको छ । लगानी बोर्ड नेपालबाट अध्ययन अनुमतिपत्र लिएको ७५० मेगावाट क्षमताको पश्चिम सेती र ४५० मेगावाट क्षमताको सेती नदी–६ जलविद्युत परियोजनाबाट उत्पादित बिजुली बिक्रीका लागि दुई कम्पनीबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
एमओयूमा एनएचपीसीका सीएमडी एके सिंह र पीटीसी इन्डियाका सीएमडी राजीवकुमार मिश्रले हरियाणाको फरीदाबादस्थित एनएचपीसी कर्पोरेट कार्यालयमा हस्ताक्षर गरेका छन् । दुई जलविद्युत आयोजनाको विकास गर्न कम्पनीले नेपालमा १८ हजार करोडभन्दा बढी लगानी गर्ने बताएका थिए ।
यसअघि एनएचपीसीले पश्चिम सेती र सेती नदी–६ मा लगानीका लागि लगानी बोर्डसँग सम्झौता गरिसकेको छ । सम्झौतामा लगानी बोर्डले यी दुबै आयोजनाबाट उत्पादित कुल विजुलीबाट २१.९ प्रतिशत बिजुली नेपालले निःशुल्क पाउनु पर्ने माग गरेको छ ।
लगानी बोर्ड र एनएचपीसीबीच भएको सम्झौतामा सर्वेक्षण अनुमति लिनुभन्दा अघि परियोजनाका विषयमा विगतमा अध्ययन गर्दा लागेको ३२ करोड २९ लाख र सर्वेक्षण अनुमति शुल्क १ करोड १० लाख रुपैयाँ तिर्नुपर्ने उल्लेख छ ।
















