कुथेली बुखरी स्मल हाइड्रोपावरले आईपीओ जारी गर्दै
वि.सं.२०८० जेठ ९ मंगलवार १०:४२
shares

काठमाडौं, ९ वैशाख । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले जेठ १९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले जारी पुँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको १० प्रतिशत अर्थात १ करोड २१ लाख ८६ हजार ८०० रुपैयाँ बराबरको शेयर जारी गर्न लागेको हो । प्रतिकित्ता १०० रुपैयाँ दरका १ लाख २१ हजार ८६८ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो । सो शेयरमा दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका वडा नं. ९ (साविकको सुष्पा क्षमावती गाविसका सम्पूर्ण वडाहरु) तथा भिमेश्वर नगरपालिका वडा नं. १ (साविकको सुद्रावती गाविसका सम्पूर्ण वडाहरु) का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।
यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने १२ लाख १८ हजार ६०० रुपैयाँ बराबरको १२ हजार १८६ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो । सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा असार १ गते हुनेछ भने ढिलोमा असार १७ गते हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने असार १ गतेभित्र आवेदन दिनु पर्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले लक्ष्मी बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र सिद्धार्थ बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।



















