Dhulikhel Eco Banner new

बुढीगण्डकीको कन्तविजोग : ४१ अर्ब स्वाहा ! तर, छैन प्रगति

16.68K
shares

काठमाडौं, ९ जेठ । मुलुककै महत्वपूर्ण आजोजनाको रुपमा रहेको बुढीगण्डकी जलविद्युत् आयोजनाको प्रगति कछुवाको गतिमा देखिएको छ । निर्माण सुरु गर्ने भनेको ८ वर्ष वितिसक्दा पनि आयोजना मुआब्जा वितरणमै रुमलिएको छ ।

१२ सय मेगावाट क्षमताको जलविद्यूत आयोजना निर्माण गर्नको लागि ५८ हजार एक सय १३ रोपनी जग्गा अधिग्रहण गरि मुआब्जा वितरण गर्नुपर्ने थियो । तर, मुआब्जाकै काम पनि पुरा सकिएको छैन ।

२ खर्ब ६० अर्ब अमेरिकी डलर निर्माण लागत अनुमान गरिएको यस आयोजनाको हालसम्म करिब ४१ अर्ब बराबर मुआब्जा वितरण गरेको छ । यो वितरण गर्नुपर्ने मुआब्जाको ९० प्रतिशतमात्रै हो ।

बुढिगण्डकी जलविद्युत आयोजना वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुर्नस्थापना इकाईका सुचना अधिकारी रितेश रावल मुआब्जा वितरण बाहेक थप केही हुन नसकेको स्वीकार गर्छन् । इकाइका संयोजक डा. जगत कुमार श्रेष्ठले भने अब काम अघि बढ्ने बताए । उनका अनुसार अहिले विद्युत प्राधिकरणकै माताहत रहने गरी कम्पनीलाई सशक्त बनाउन लागिएको छ । त्यसपछि काम रफ्तारमा अघि बढ्नेछ ।

उक्त्त आयोजनामा धादिङ र गोरखाका १० वटा स्थानीय तह प्रभावित हुने छन् । आयोजनाले धादिङ र गोरखा जिल्ला तर्फ ४९ हजार ०९५ रोपनी जग्गाको मुआब्जा बापत ३४ अर्ब २१ करोड वितरण गरिसकेको छ । त्यस्तै आयोजनाले हालसम्म करिब २२ हजार ४०३ वटा घर गोठ लगायत अन्य भौतिक संरचनाहरु तथा ७ लाख ८७ हजार ८५४ वटा विभिन्न प्रजातिका रुख, बोट विरुवा र फलफुलहरुको क्षतिपुर्ति बापत ६ अर्ब ९१ करोड वितरण गरेको छ ।

९० प्रतिशतमा पनि नपरेको गुनासो

बुढीगण्डकी आयोजना प्रभावित क्षेत्रमा पर्ने धेरैले मुआब्जा लिए । कतिले त काठमाडौंमा घर घडेरी समेत जोडि सकेका छन् । तर, कतिपय स्थानीय भने अझैसम्म मुआब्जाको आशमा बसिरहेका छन् ।

९० प्रतिशत मुआब्जा वितरण गर्दा पनि अहिलेसम्म आफूले नपाएको ज्वालामूखी–५ धादिङकी गोमा सिंखडाको गुनासो छ । ‘पहिला त आफ्नो घर नजिक यस्तो ठुलो आयोजना सञ्चालन हुन लाग्यो भन्दा खुब खुशी लागेको थियो’ गोमा भन्छिन्, ‘ आयोजना सुरु भएको पनि ८ वर्ष भइसकेको छ अहिलेसम्म बोट विरुवाको मुआब्जा पाएका छैनौं, पहिला के–के नै हुन्छ जस्तो भयो अहिले केहि न केहि ।’ गोमा प्रतिनिधि पात्र मात्रै हुन् । उनी जस्ता गुनासा गर्नेहरु धेरै छन् । अझ मूख्य कुरो त, आयोजना कहिले बन्छ भन्ने कुराको ठेगान नै छैन ।