१४ वर्षदेखि अलपत्र डुमरियाको सहिद सूर्यनाथ रान स्मृति अस्पताल सञ्चालनको तयारीमा
वि.सं.२०८१ भदौ २७ बिहीवार १०:५४
shares

काठमाडौं, २७ भदौ । धनुषाको शहिदनगर नगरपालिका–८, डुमरियामा १४ वर्षदेखि अलपत्र अवस्थामा रहेको सहिद सूर्यनाथ रान स्मृति अस्पताल सञ्चालन हुने भएको छ । मधेश प्रदेश सरकारले आफ्नो स्वामित्वमा लिएर अस्पताल सञ्चालनको तयारी थालेको हो ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले लामो समयदेखि अलपत्र अवस्थामा रहेको सो अस्पताल सञ्चालनमा ल्याउन लागिएको बताए । अस्पताल सञ्चालनका लागि बेडसहितका स्वास्थ्य उपकरण तथा औषधि पठाइएको बताउँदै उनले एक महिनाभित्र सेवा दिन सुरु गर्ने गरी काम अघि बढाइएको जानकारी दिए ।
भदौ १८ गते डुमरियाका स्थानीयले सहिद सूर्यनाथ रान स्मृति अस्पताल सञ्चालनका लागि मुख्यमन्त्री सतिश कुमार सिंहको ध्यानाकर्षण गराएको थियो । त्यस बखत मुख्यमन्त्री सिंहले सो अस्पताल छिट्टै सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेको थियो । उनले प्रतिबद्धता गरेको दुई दिनभित्रमै अस्पताल सञ्चालनका लागि आवश्यक स्वास्थ्य उपकरण तथा औषधि पठाएको हो । उनले सो अस्पताललाई ५० शय्याका रुपमा सञ्चालनका लागि अनुमति दिने निर्णय मन्त्रिपरिषद्बाट भइसकेको बताए ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. संजय कुमार ठाकुरले प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र प्रदेश स्वास्थ्यविज्ञान प्रतिष्ठानबाट डुमरिया अस्पतालमा आवश्यक परिमाण स्वास्थ्य उपकरण र औषधि पठाइएको बताए । अब यो अस्पताल छिट्टै सञ्चालनमा आउने उल्लेख गर्दै उनले चिकित्सकसहितका आवश्यक जनशक्ति व्यवस्थापनको काम भइरहेको जानकारी दिए । उनले भने, “सुरुमा ओपिडी सेवाबाट अस्पताल सञ्चालन गर्छैँ । त्यसपछि सुविधा बढाउँदै लैजान्छौँ ।”
अस्पताल चार करोड रुपियाँको लागतमा निर्माण भएको छ । १५ वर्षअघि तत्कालीन स्वास्थ्यमन्त्री गिरीराजमणि पोखरेलले सो अस्पतालको शिलान्या गरेको थियो । अस्पतालका लागि स्थानीय १५ जनाले करिब दुई बिघा जग्गा दान गरेको छ ।
स्थानीयका अनुसार २०७२ सालमा निर्माण कार्य सकिए पनि अस्पताल सञ्चालन अन्यौल बनेको थियो । मधेश सरकारले स्वास्थय उपकरण र औषधि पठाएपछि अस्पताल सञ्चालनमा आउने आश पलाएको स्थानीयको भनाइ छ ।
स्थानीय रुपलाल यादवले यो गाउँको नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री उमाशंकर अरगरियाले अस्पताल सञ्चालनमा ल्याउन धेरै प्रयास गरेको बताए । अहिले पनि अरगरिया र सञ्जिव झाले अस्पताल सञ्चालनमा ल्याउन अगुवाइ गरिरहेको यादवले सुनाए ।
स्थानीय प्रेमलाल यादवले अस्पताल सञ्चालनमा आउँछ भन्ने अझै शङ्का रहेको बताए । उनले भने, “मधेश सरकारले स्वास्थ्य उपकरण तथा औषधि त पठायो तर स्वास्थ्यकर्मी लगायत जनशक्तिको अझै टुङ्गो छैन् । सेवा दिन डाक्टर आउनुपर्यो । अब डाक्टर कहिले आउने हो, निश्चित छैन् ।” यस भेगमा सुविधासम्पन्न अस्पताल नहुँदा उपचारका लागि बिरामीलाई जनकपुर लैजानुपर्ने बाध्यता रहेको यादवले बताए ।
उनले अस्पताल सञ्चालनमा राजनीतिकरण भएको गुनासो गर्दै भने, “अस्पताल सञ्चालनका लागि डुमरियामा पटकपटक आन्दोलन भयो । सबै नेताले म सञ्चालन गर्छु भन्छन् । तर कसैले सकेनन् ।” जनताको समस्या बुझेर जसरी पनि अस्पताल सञ्चालनमा आउनुपर्ने यादवको भनाइ छ ।



















