तोकिएको समयभित्र उद्योग सञ्चालन गर्न विभागको अनुरोध
वि.सं.२०८१ साउन १८ शुक्रवार १५:२६
shares

काठमाडौं, १८ साउन । उद्योग सञ्चालन गर्न विदेशी लगानीकर्ताले तोकिएको समयभित्र उद्योग सञ्चालन नगरे धरौटी जफत हुने भएको छ ।
नेपालमा हरेक वर्ष अर्बौ लगानी प्रतिबद्धता आउने गरेको तर, यथार्थमा लगानी भित्रने क्रम भने कम छ । विभागले तोकिएको समयभित्र लगानी भित्र्याउन र उद्योग सञ्चालनका लागि ताकेता गर्न थालेको हो ।
विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन र नियमावली तथा औद्योगिक व्यवसाय ऐन र नियमावलीमा तोकिएको अवधिभित्र स्वीकृत लगानी भित्र्याउने र उद्योग सञ्चालनमा ल्याउनु पर्ने विभागको भनाइ छ ।
उद्योग विभागले ३५ दिनभित्र तोकिएको समयमा लगानी भित्र्याएको प्रमाण बुझाई विभागबाट उद्योग दर्ताका क्रममा बुझाएको धरौटी फिर्ता लैजान विदेशी लगानीकर्ताहरूलाई अनुरोध गरेको छ ।
सो समयभित्र लगानीकर्ताले स्वीकृत लगानी भित्र्याएको प्रमाण र उद्योग सञ्चालनको जानकारी नगराएमा धरौटी रकम जफत हुने विभागले स्पष्ट पारेको छ ।
धरौटी फिर्ताका लागि विवरण खोलिएको माग निवेदन, उद्योग सञ्चालनमा आएको प्रमाण कर चुक्ता ९शून्य कारोबार आएमा नमानिने०, लगानी भित्र्याएको प्रमाण, उद्योग दर्ताको प्रमाण, धरौटी रकम जम्मा गरेको सक्कल प्रति, लेखा परीक्षण प्रतिवेदन र कम्पनी अध्यावधिक प्रमाणपत्र समेत बुझाउनु पर्ने बताएको छ ।



















