बन्दको मौका छोपी बीमाको लोभमा जलाइयो टिपर
वि.सं.२०७९ भदौ ७ मंगलवार १४:४२
shares

काठमाडौं, ७ भदौ । मंगलबार विहानै दाङमा एक टिपर माथि आगो लागेको जानकारी पाए पछि प्रहरी त्यहाँ पुग्यो । आज विभिन्न दलहरुले नेपाल बन्दको आह्वान गरेका थिए । बन्दको अवसरमा टिपर बन्द कर्ताले जलाएको हुन सक्ने प्रहरीले अनुमान मात्रै गर्यो तर एकिन गरेन् ।
टिपरमा आगो लगाएको विषयमा प्रहरीले अनुसान्धान गर्न थाल्यो । अनि प्रहरीले पत्ता लगायो कि टिपर बन्दकर्ताले नभएर चालक र सहचालकले पो जलाएका रहेछन् । त्यो पनि बीमा गरेको रकम पाउनका लागि । बन्दको मौका छोपेर । आफूले चलाएको सवारीमा आफैले आगो लगाएको भन्दै प्रहरीले टिपरका चालक अरुण चौधरी र सह चालक आकाश चौधरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश प्रसाद काफ्लेले जानकारी दिए ।
प्रहरीका अनुसार घोराही–लमही सडकखण्डको बबई खोलाको पुलमा आज बिहान रा १ ख १६९४ नम्बरको टिपरमा आगजनी भएको थियो । स्थानीयले टिपरमा आगो लागेको देखे पछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरीलाई टिपर चालक चौधरीले ४–५ जनाको समूहरले आगो लगाएको जानकारी दिएका थिए ।
सबैतिर सवारी साधन निर्वाध रुपमा चलिरहेको अवस्थामा त्यो टिपरमा मात्रै कसरी आगजनी भयो भन्ने विषयमा प्रहरीले शंका गरेर अनुसन्धान गरेको प्रहरी प्रमुख काफ्लेले बताए । अनुसन्धान गर्दा बीमा लोभमा आगलागि भएको जानकारी भएको उनको भनाइ छ ।
यो टिपर दुई दिनदेखि मर्मतका लागि ग्यारेजमा रहेको प्रहरीको भनाइ छ । अनुसन्धानकै क्रममा बीमाको लोभमा गाडी मालिकको सहमतिमा बिग्रेको गाडीमा चालक आफैंले आगजानी गरेको पुष्टि भएको एसपी काफ्लेले बताए । प्रहरीले टिपरका मालिकको खोजी गरिरहेको जनाएको छ ।

















