Dhulikhel Eco Banner new

मर्जरबिनै पुँजी पुर्‍याउने लक्ष्यमा आइएमई लाइफ, कसरी पुर्‍याउँदै छ चुक्ता पुँजी ?

4.82K
shares

काठमाडौं, १ कात्तिक । आइएमई लाइफ इन्स्योरेन्सले मर्जरबिनै पुँजी पुर्‍याउने लक्ष्य लिएको छ । बीमा समितिले तोकेको ५ अर्ब रुपैयाँ पुँजी पुर्‍याउनका लागि इन्स्योरेन्सले संस्थापक शेयरधनीहरुलाई पुँजी थप्नका लागि आग्रह गरेको हो ।

बीमा समितिले जीवन बीमा कम्पनीलाई ५ अर्ब र निर्जीवन बीमा कम्पनीलाई साडे २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउन निर्देशन दिएको छ । जस अनुसार बीमा कम्पनीले मर्जरमा जानका लागि २०७९ को चैत मसान्तसम्म एकीकृत कारोबार गर्नु पर्ने नियम रहेको छ । मर्जरभन्दा पनि पुँजी पुर्‍याउनका लागि निर्देशन दिएको बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बताए । ‘हामीले मर्जरमा जानै पर्छ भनेको होइन, पुँजी पुर्‍याउन भनेका छौँ, त्यसका लागि एउटा उपाए मर्जर पनि हो,’ उनले भने ।

आइएमई लाइफ इन्स्योरेन्सले भने मर्जरभन्दा पनि शेयरधनीहरुलाई शत प्रतिशत पुँजी थपेर चुक्ता पुँजी पुर्‍याउने योजना लिएको देखिएको छ । जस अनुसार कम्पनीले मंगलबार सूचना जारी गरेर शेयरधनीहरुलाई शत प्रतिशत पुँजी थप्नका लागि आग्रह गरेको हो ।

कम्पनीले असोज २६ गते सम्पन्न भएको पाँचौ साधारण सभाले हाल कायम रहेको संस्थापक शेयरधनीहरूबाट शत प्रतिशत अर्थात १ बराबर १ का दरले थप लगानी गर्ने निर्णय गरेको थियो । सो निर्णय बीमा समितिले स्वीकृत समेत गरिसकेको छ । समितिले स्वीकृत गरेसँगै कम्पनीले संस्थापक शेयरधनीहरूलाई आफ्नो नाममा हाल कायम कुल शेयर बराबरको थप रकम लगानी गर्न आग्रह गरेको हो ।

कम्पनीका संस्थापक शेयरधनीहरुलाई मंसिर ५ गतेभित्र रकम जम्मा गर्नका लागि आग्रह गरिएको छ । संस्थापक शेयरधनीहरुले सिद्धार्थ बैंक, हात्तिसार, काठमाडौं र नबिल बैंक तिनधारा काठमाडौंमा रहेको बैंकखातामा रकम जम्मा गर्नु पर्ने सूचनामा उल्लेख गरिएको छ ।

कम्पनीको हाल चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । संस्थापकहरुले थप शत प्रतिशत पुँजी थपेपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ । त्यसपछि कायम चुक्ता पुँजीको ४० प्रतिशत १ अर्ब २० करोड रूपैयाँ बराबरको आईपीओ निष्काशन गरेपछि चुक्ता पुँजी ४ अर्ब रुपैयाँ पुग्नेछ ।

त्यसपछि कम्पनीले हकप्रद वा बोनस शेयर वितरण गरेर बीमा समितिको निर्देशन अनुसार चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुर्‍याउन सक्नेछ ।