जीवन बीमाका वर्तमान प्रवृत्ति, समस्या र समाधान
वि.सं.२०८० वैशाख २६ मंगलवार ०६:४०
5.36K
shares
shares

वर्तमान प्रवृत्ति
नेपालको समग्र बीमा उद्योगका वर्तमान प्रवृत्ति, दिशा र समस्याको बारेमा चर्चा गर्न यो सानो लेखमा संभव नहुने भएकाले बीमा उद्योगको एक महत्वपूर्ण उपक्षेत्र जीवन बीमा बजारको बारेमा केही पक्षहरुको उल्लेख गर्ने प्रयास गरिएको छ ।
जीवन बीमा खरिद गर्नका मुख्य २ उद्देश्य छन् :
एक : जोखिम बहन गर्ने अर्थात् भवितव्य परेको अवस्थामा क्षतिपूर्ति गर्ने ।
दुई : जोखिम बहन गर्नुको साथ साथै भविष्यको लागि अनिवार्य बचत गर्ने ।
हुन त जीवन बीमाका अन्य उद्देश्यहरु पनि नभएका भने होइन् जस्तो कि करछुट सुविधा लिने, जोखिम हस्तान्तरण मार्फत मानसिक सुख प्राप्त गर्ने । जीवन बीमाले देशको राष्ट्रिय उद्देश्यहरु पनि पुरा गर्दछ । अनिवार्य बचत र छरिएर रहेको ससानो रकमबाट ठुलो श्रोत परिचालन गर्दै राष्ट्रको आर्थिक विकासका लागि चाहिने पूँजी निर्माण गर्ने, रोजगारीको सिर्जना गर्ने, विकास निर्माणको लागि आवश्यक बित्तिय सहयोग प्रदान गर्ने रहेका छन् ।
समाजको जोखिम हस्तान्तरण गरि अनावश्यक आर्थिक भारलाई न्यूनीकरण गर्ने भएकोले जीवन बीमाले सामाजिक उद्देश्य पनि पुरा गरिरहेको छ । आज बीमा बजारमा धेरै प्रकारका बीमा पोलिसीहरु पाइन्छन् तर तिनीहरु दुई मध्ये एक वर्गमा पर्दछन् । या त तिनीहरु म्यादी (Risk Protection only) पोलिसी हुन् या त नगद प्राप्ति Cash Value Policy पोलिस हुन् । नगद प्राप्ति पोलिसीभित्र सावधिक र जीवन पर्यान्त पोलिसी पर्दछन् । सावधिक पोलिसीहरु पनि धेरै प्रकारका हुन्छन् : शुद्ध सावधिक, साधारण सावधिक, बाल शिक्षा सावधिक, पैसा फिर्ता सावधिक, एकल भुक्तानी सावधिक, सीमित भुक्तानी सावधिक, लगानीसँग आबद्ध सावधिक इत्यादि । यी सावधिक पोलिसीले बोनस प्राप्त गर्दछन् र यीनलाई नाफामा आधारित पोलिसी पनि भनिन्छ । तर बोनस प्राप्त नगर्ने पोलिसी पनि हुन्छन् जसको प्रिमियम केही कम हुन्छ ।
विकसित देशहरुमा म्यादि पोलिसी निकै लोकप्रिय छ तर नेपालमा सावधिक पोलिसी नै बढी खरिद गरिन्छ । बीमा कम्पनीहरुले शुरु शुरुमा सावधिक पोलिसीलाई बढी जोड दिने गरेकोले यस्तो भएको हो भने वैदेशिक रोजगार जानेहरुको लागि म्यादी पोलिसी अनिवार्य रुपमा खरिद गर्नुपर्ने नियम बनाइसकेपछि नेपालमा म्यादी पोलिसीको संंख्यामा क्रमशः बृद्धि भएको पाइन्छ ।
आजको मितिमा १७ वटा (केही समय अघिसम्म १९ वटा थिए र आगामी दिनमा यो संख्या घट्ने देखिन्छ) बीमा कम्पनीहरुले जीवन बीमा पोलिसीहरु बिक्री गरिरहेका छन् । सबै कम्पनीहरुको प्रयासमा बजारले आ.व. २०७८/७९ मा कुल जीवन बीमा प्रिमियम रु. १३८.६४ अर्ब आर्जन गरेका थिए । बीमा बजारका सूचांकहरुको हेर्दा कुल जनसंख्या र बिक्री गरिएका पोलिसीको अनुपात (coverage) ४१ प्रतिशत, जिडिपिमा प्रिमियमको अनुपात (Penetration ratio) २.८६ प्रतिशत र प्रति ब्यक्ति प्रिमियम (Density) करिब रु. ४,५७४ देखिन्छ । यस तथ्यांकबाट के देखिन्छ भने अझै ५९ प्रतिशत जनसंख्याले जीवन बीमा पोलिसी किन्न बाँकी छ र प्रति ब्यक्ति प्रिमियम पनि बढाउने संभावना पनि निकै छ ।
क) पोलिसीगत रुपमा जीवन बीमा प्रिमियमको अवस्था
जीवन बीमा पोलिसीहरुलाई बीमा प्राधिकरणले बिभिन्न प्रडक्टहरुमा वर्गीकरण गरी रिपोर्ट गर्ने गरेको छ । तीनिहरु (Endowment, Money Back, Convertible, Child, Foreign Employment Term, Whole, Single Endowment policy, General Term, Micro (endowment/term) रहेका छन् । आ.व. २०७९/८० को ८ महिनामा (२०७९ फागुन मसान्तसम्मको तथ्यांकको आधारमा) झण्डै रु. ९४ अर्ब प्रिमियम रकम संकलन भएको देखिन्छ । प्रिमियम रकम संकलनको आधारमा सामान्य सावधिक पोलिसीको स्थान पहिलो ३८ दशमलव ७१ प्रतिशत, त्यसपछि धन फिर्ता २४ दशमलव शून्य पाँच प्रतिशत र सबैभन्दा पछिल्लो स्थानमा एकल प्रिमियम पोलिसी शून्य दशमलव ८२ प्रतिशत रहेको पाउछौं ।
एक करोड ४० लाख पोलिसीहरु बिक्री हुंदा लघु र म्यादी पोलिसी झण्डै बराबर र सबैभन्दा धेरै (२९ प्रतिशत) र एकल प्रिमियम पेमेन्ट प्रोडक्ट र आजीवन जीवन बीमा प्रडक्ट सबैभन्दा कमसंख्यामा बिक्री भएको छ । सावधिक पोलिसी ९४ प्रतिशत र म्यादी पोलिसी ६ प्रतिशत बिक्री भएको पाइयो । सबै भन्दा बढी बिक्री गरिएका प्रोडक्टहरुमा सामान्य, धन फिर्ता, बालबच्चा पोलिसी देखियो भने आजीवन बीमा प्रोडक्ट पनि कम बिक्री भएको पाइयो ।
तालीका नं. १ : पोलिसीगत रुपमा जीवन बीमा प्रिमियमको अवस्था :
| Types of Life Insurance Policies Sold | Gross Premium | Policies enforced
(in ‘000) |
Per policy premium
(Rs.) |
||
| Rs. (in Crore) | % | Number | % | ||
| Endowment | 36,292 | 38.71 | 1,963 | 14.02 | 18,491 |
| Money Back | 22,546 | 24.05 | 491 | 3.51 | 45,915 |
| Child | 13,870 | 14.79 | 1,292 | 9.23 | 10,736 |
| Convertible Endowment | 12,516 | 13.35 | 516 | 3.68 | 24,258 |
| Whole | 2,986 | 3.18 | 128 | 0.91 | 23,366 |
| FE Term | 2,231 | 2.38 | 1,394 | 9.96 | 1,601 |
| Micro | 1,640 | 1.75 | 4,106 | 29.32 | 399 |
| Term | 905 | 0.97 | 4,088 | 29.20 | 221 |
| Single | 767 | 0.82 | 24 | 0.17 | 31,698 |
| Total | 93,753 | 100% | 14,002 | 100% | 6,696 |
Source: www.nia.gov [2023 April 2]
ख) प्रदेशगत रुपमा जीवन बीमा प्रिमियम र पोलिसी संख्याको बिबरण
आ.व.२०७९/८० को फागुन मसान्तसम्मको तथ्यांकले के देखाउंछ भने सबैभन्दा बढी पोलिसी बिक्री बाग्मती प्रदेशमा त्यस पछि मधेस प्रदेश र लुम्बिनी प्रदेशमा भएको छ भने सबैभन्दा कम कर्णाली र त्यसपछि सुदुरपश्चिम, गण्डकी र कोशी प्रदेशमा भएको देखिन्छ ।

Source: www.nia.gov [2023 April 2]
ग) जनसंख्यासंग पोलिसी संख्या बिक्री र प्रिमियम संकलनको तुलना
जीवन बीमा बजारको हिस्सा सबैभन्दा बढी (४ .२९ प्रतिशत) बाग्मति प्रदेशमा रहेको छ भने त्यसपछि लुम्बिनी, कोशी र गण्डकीमा रहेको छ। सबैभन्दा सानो हिस्सा कर्णालीमा (४ प्रतिशत) र सुदुरपश्चिममा ( प्रतिशत) रहेको छ । सबै भन्दा बढी बिक्री गरिएका प्रोडक्टहरुमा सामान्य, धन फिर्ता, बालबच्चा पोलिसी देखियो भने आजीवन बीमा प्रोडक्ट पनि कम बिक्री भएको पाइयो ।
तालीका नं. २ : पोलिसीगत रुपमा जीवन बीमा प्रिमियमको अवस्था
| SN | Name of Province | Pol./Pop. | Share in Percentage (%) | Rank | ||||
| Pop. | Pol. | Prem. | Pop. | Pol. | Prem. | |||
| 1 | Koshi Pradesh | 15% | 17.03 | 12 | 5.38 | 4 | 3 | 4 |
| 2 | Madhesh Province | 18% | 20.98 | 9.14 | 8 | 1 | 5 | 2 |
| 3 | Bagmati Province | 160% | 20.84 | 45.29 | 69.33 | 2 | 1 | 1 |
| 4 | Gandaki Province | 28% | 8.49 | 9.96 | 4.95 | 6 | 4 | 5 |
| 5 | Lumbini Province | 18% | 17.55 | 14.47 | 6.5 | 3 | 2 | 3 |
| 6 | Karnali Province | 20% | 5.8 | 4.08 | 2.4 | 7 | 7 | 7 |
| 7 | Sudurpashchim Province | 18% | 9.28 | 5.05 | 3.45 | 5 | 6 | 6 |
| Correlation Coefficient between (r)
|
Pop. & Pol. (r ) = 0.53 | Pol. & Prem. (r ) = 0.98 | Pop. & Prem. ( r) = 0.60 | |||||
Pop.= Population, Prem.= Premium, Pol. = Policy
जनसंख्याको आधारमा हेर्दा सबैभन्दा बढी अर्थात जनसंख्या भन्दा ६० प्रतिशत बढी पोलिसी बाग्मती प्रदेशमा बिक्री भएको देखिन्छ त्यसपछि गण्डकीमा कुल जनसंख्याको १८ प्रतिशतले मात्रै पोलिसी खरिद गरेको पाइन्छ भने त्यसपछि कर्णाली प्रदेशमा बिक्री भएको पाइन्छ । सबैभन्दा कम कोशी प्रदेशमा जनसंख्याको १५ प्रतिशतल् मात्रै बीमा पोलिसी लिएको देखिन्छ ।
सबैभन्दा बढी जनसंख्या मधेशमा २० दशमलव ९८ प्रतिशत छ तर बजार हिस्साको आधारमा दोश्रो स्थानमा छ । कणांली जनर्संख्याको आधारमा अन्तिम स्थानमा रहेको छ र बीमा बजार पनि अन्तिम स्थानमा रहेको हामी पाउंछौ । जनसंख्या र पोलिसी संख्या बीचको सहसम्बन्ध र जनसंख्या र प्रिमियम बीचनको सहसम्बन्ध एकै दिशातर्फ हिडेको छ तर त्यति बलियो देखिदैन । पोलिसी संख्या र प्रिमियम बीचको सहसम्बन्ध भने निकै बलियो र एकैदिशामा हिडेको देखिन्छ ।
घ) पोलिसिगत रुपमा बढी बिक्री भएका प्रदेश र तीनको हिस्सा
प्रिमियम संकलनको आधारमा हेर्दा बाग्मति प्रदेशमा Simple Endowment, Foreign Employment Term, Term Life & Micro term सबैभन्दा बढी बिक्रि भएको देखिन्छ भने कोशी प्रदेशमा Money Back Plan, मधेशमा Convertible Endowment & Whole life सबैभन्दा बढी भएको देखिन्छ । सुदुर पश्चिममा Child Endowment & Single Premium सबैभन्दा बढी बिक्रि भएको देखिन्छ । यस बाहेकका गण्डकी, लुम्बिनी, र कर्णाली प्रदेश कुनै पनि प्रडक्ट बिक्रीमा पहिलो हुन सकेको देखिदैन ।
तालीका नं. ३ : पोलिसीगत रुपमा जीवन बीमा प्रिमियमको अवस्था
| Types of Life insurance policy | Province of highest sales | Market Share of Gross Premium |
| Simple Endowment | Bagmati | 46.00% |
| Money Back Plan | Koshi | 32.64% |
| Convertible Endowment | Madhesh | 30.19% |
| Child Endowment | Sudur Paschim | 24.61% |
| Foreign Employment Term | Bagmati | 5.24% |
| Whole life | Madhesh | 6.64% |
| Single Premium | Sudur Paschim | 2.17% |
| Term Life | Bagmati | 1.50% |
| Micro term | Bagmati | 2.79% |
२. समस्या
जीवन बीमाको क्षेत्रमा धेरै समस्याहरु छन् तर यो लेखमा सबै समस्याहरुको चर्चा गर्न सान्दर्भिक छैन । तथ्यांकको आधारमा गरिएको बिश्लेषणले के देखाउँछ भने ३ प्रकारका बीमा पोलिसीहरु म्यादी, सावधिक र आजीवन मध्ये सावधिक पोलिसीहरुको बिक्रीमा मात्रै कम्पनीहरुले बढी जोड दिएका छन् ।
वैदेशिक रोजगार म्यादी बीमालाई अनिवार्य नगरेको अवस्थामा सामान्य म्यादी बिमाको हिस्सा १ प्रतिशत भन्दा पनि कम बिक्री भएको अवस्था छ । जबकी विकसित देशहरुमा म्यादी बीमालाई निकै प्राथमिकताका साथ बिक्री गरिन्छ । बीमा बजार धेरै दृष्टिकोणबाट असन्तुलित देखिन्छ । पोलिसीको स्ांख्या होस् वा प्रिमियम रकम होस् प्रादेशिक जनसंख्याको आधारमा बीमा बजारको संरचना सन्तुलित देखिदैन ।
३. समाधानका उपाय
जीवन बीमा बिक्री गर्ने विषय हो । मानिसहरु स्वयं बीमा खरिद गर्दैनन् र स्वयं खरिद गर्न सकिने विषय पनि होइन किनकी जोखिमको मूल्यांकन नगरी पोलिसी बिक्री गरिदैन । बीमा कम्पनी, अभिकर्ता र खरिदकर्ता आम जनतालाई बीमाका सबै पक्षको बारेमा गहिरो ज्ञानको अभाव छ । विज्ञ अभिकर्ताहरुको सहयोगबाट बजारीकरण गरिनु पर्दछ ।
परिवारको संरचना, आर्थिक अवस्था, र आवश्यकताको आधारमा सही पोलिसीहरु डिजाइन गर्नु र छनौटको अवसर पोलिसीकर्तालाई दिनु आवश्यक छ । अन्यथा, गलत खालका पोलिसी खरिद गर्ने र पछि पछुताउने अवस्था आउन सक्दछ । विशेष गरी म्यादि पोलिसी बिक्री गर्ने सन्दर्भमा बीमा कम्पनीहरुले विशेष ढंगले सोच्नु आवश्यक छ । त्यस्तै जटिल भौगोलिक अवस्थिति भएको क्षेत्रहरुमा कम र शहरि क्षेत्रमा बढी पोलिसी बिक्री भएको देखिन्छ ।
जीवन बीमालाई आम जनता समक्ष पुर्याउनका लागि सरकारी नीति आवश्यक छ । बजारीकरण गर्ने अभिकर्ताको अलावा ब्रोकरलाई पनि अनुमति दिने, डिजिटल युगमा अनलाइन माध्यमबाट पोलिसी खरिद गर्नका लागि प्रोत्साहित गर्ने, बजारीकरणलाई व्यवस्थित गर्ने, आवश्यकताको सिद्धान्त अनुसार पोलिसी बिक्री गर्ने जस्ता नियमहरु बनाउनु अपरिहार्य छ ।
(डा. घिमिरे पोखरा विश्वविदालयका सहप्राध्यापक हुन् ।)

















