एलआईसी नेपालले कमायो २३ करोड ६० लाख नाफा
वि.सं.२०८२ वैशाख २९ सोमवार १०:०३
shares

काठमाडौं, २९ वैशाख । एलआईसी नेपालले चालु आर्थिक वर्षको पहिलो नौ महिनामा उल्लेख्य वित्तीय प्रगति गर्दै २३ करोड ६० लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ। यो मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.६६ प्रतिशतले बढी हो।
गत वर्षको समान अवधिमा कम्पनीले १९ करोड २४ लाख रुपैयाँ मुनाफा कमाएको थियो। बीमा शुल्कतर्फ पनि कम्पनीले ८.४३ प्रतिशत वृद्धिसहित १३ अर्ब ९५ करोड ४५ लाख रुपैयाँ बराबरको खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ। गत वर्ष सोही अवधिमा यो रकम १२ अर्ब ८६ करोड ९२ लाख रुपैयाँ थियो।
बीमा दाबी भुक्तानीमा एलआईसी नेपाल अझ प्रभावकारी देखिएको छ। नौ महिनाको अवधिमा कम्पनीले १९ अर्ब ५२ करोड ८५ लाख रुपैयाँको बीमा दाबी भुक्तानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ७.९१ प्रतिशतले बढी हो।
कम्पनीले कर्जा तथा लगानीमार्फत ७ अर्ब ३९ करोड ८६ लाख रुपैयाँ आम्दानी गरेको छ। यसरी, समग्रमा कम्पनीको कुल आम्दानी ७.९५ प्रतिशतले वृद्धि भएर २३ अर्ब ३३ करोड ६८ लाख रुपैयाँ पुगेको छ।
एलआईसी नेपालका अभिकर्तालाई दिइने कमिसन पनि ५ प्रतिशतले वृद्धि भई ९८ करोड २८ लाख रुपैयाँ पुगेको छ। कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ २९ पैसा र नेटवर्थ पर शेयर १९८ रुपैयाँ ९७ पैसा रहेको छ। हाल कम्पनीसँग ६८ लाख ३८ हजार बीमा पोलिसीहरू क्रियाशील छन्।
पाँच अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा तीन अर्ब ३७ करोड ३९ लाख, महाविपत्ती कोषमा ६७ करोड ७६ लाख तथा जीवन बीमा कोषमा एक खर्ब २९ अर्ब ८० करोड रुपैयाँ सञ्चित छ।
















