Dhulikhel Eco Banner new

प्रभु इन्स्योरेन्सले कमायो २० करोड २ लाख नाफा

2.12K
shares

काठमाडौं, २९ वैशाख । प्रभु इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले यो अवधिमा २० करोड २ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४८.८४ प्रतिशतले कम हो। गत वर्ष कम्पनीले सोही अवधिमा ३९ करोड १४ लाख ६५ हजार रुपैयाँ नाफा कमाएको थियो।

नाफामा गिरावट आए पनि कम्पनीको बीमा कोषमा उल्लेखनीय वृद्धि भएको छ। चालु वर्षको चैत मसान्तसम्म बीमा कोष ४५.९९ प्रतिशतले बढ्दै २ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यो १ अर्ब ७६ करोड रुपैयाँमा सीमित थियो।

आम्दानीतर्फ भने प्रभु इन्स्योरेन्सले गिरावट व्यहोर्नुपरेको देखिन्छ। गत वर्षको १ अर्ब ९ करोड रुपैयाँ आम्दानीको तुलनामा यस वर्षको सोही अवधिमा ३३.५६ प्रतिशतले घट्दै ७२ करोड ६१ लाख रुपैयाँमा सीमित भएको छ। यद्यपि, खर्चमा पनि कटौती गर्दै कम्पनीले खर्च १७.५५ प्रतिशतले घटाएर ४४ करोड १३ हजार रुपैयाँमा झारेको छ।

कम्पनीको हालको चुक्ता पुँजी १ अर्ब ४४ करोड रुपैयाँ रहेको छ। महाविपत्ति कोष ९.५० प्रतिशतले बढेर ११ करोड ५३ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोष ४३.५१ प्रतिशतको उल्लेखनीय वृद्धिसहित २९ करोड १ लाख रुपैयाँ पुगेको छ।

समिक्षा अवधिमा प्रभु इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ५३ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ पुगेको छ।