Dhulikhel Eco Banner new

नासाले चन्द्रमाको धुलो र साङ्ला फिर्ता माग्यो

5.64K
shares

काठमाडौं, ११ असार । लिलाम बिक्री हुन लागेको थाहा पाएपछि नासाले चन्द्रमाको धुलो र साङ्ला फिर्ता मागेको छ । नासाको कदमले चार लाख डलरमा बिक्री हुन लागेको ४० ग्राम माटो र तीनवटा मरेका साङ्ला बेचिनबाट जोगिएका छन् ।

अन्तरिक्ष एजेन्सीले आरआर अक्सनलाई सन् १९६९ को अपोलो–११ मिसनमा संकलन गरिएको चन्द्रमाको धुलो र तीनवटा साङ्लाको बिक्री रोक्न तथा तत्काल ती फिर्ता गर्न माग गरेको हो । चन्द्रमाको चट्टानबाट संकलन गरिएको माटोमा स्थलचरमा प्रभाव पर्ने÷नपर्ने अनुसन्धान गर्न त्यो माटो ती साङ्लालाई खुवाइएको थियो ।

नासाका वकिलले लिलामीकर्ता कम्पनीलाई पत्र लेखेर चन्द्रमाको माटो र साङ्ला रहेको सिसी संघीय सरकारको स्वामित्वमा रहेको सम्झाउँदै फिर्ता गर्न भनेका छन् । नासाको पत्र पाएपछि आरआर अक्सनले बेच्ने तयारी गरिएको माटो र साङ्लालाई सूचीबाट हटाएको छ ।

लिलामी रोक्न नासाले दुईपटक पत्राचार गर्नुपरेको थियो। अपेलो–११ मिसनले २१.३ किलोग्रामभन्दा बढी चन्द्रमाको चट्टान पृथ्वीमा ल्याएको थियो । उक्त चट्टानलाई धुल्याएर कीरा, माछा, साङ्ला लगायत जीवलाई खुवाइएको थियो । चट्टानको धुलो विषाक्त भए/नभएको निर्क्यौल गर्न तिनलाई त्यो खुवाइएको थियो ।

चन्द्रमाका धुलो खुवाइएका साङ्लालाई त्यतिबेला नै मिनेसोटा विश्वविद्यालय लगेर कीटविद् मेरियन बुक्सबाट अनुसन्धान गराइएको थियो । चन्द्रमाको माटो विषाक्त नभएको उनले पुष्टि गरेकी थिइन् । (रासस/एपी)