ट्रक महासंघको अध्यक्षमा हिरालाल श्रेष्ठ
वि.सं.२०७९ असार ११ शनिवार २१:३९
shares

काठमाडौं, ११ असार । नेपाल ट्रक यातायात व्यवसायी महासंघको अध्यक्षमा हिरालाल श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार ललितपुरमा भएको महासंघको १५ औँ साधारण सभा तथा सातौँ महाधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको हो ।
हिरालाल श्रेष्ठले राजेन्द्र कुमार श्रेष्ठलाई ८१ मतअन्तरले पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् । हिरालालले १२८ मत प्राप्त गर्दा राजेन्द्र कुमारले ४७ मत मात्रै प्राप्त गरे । महासंघको वरिष्ठ उपाध्यक्षमा भने लोकराज पोख्रेल निर्विरोध निर्वाचित भएका छन् ।
त्यसैगरी उपाध्यक्षमा विष्णु न्यौपाने र कृष्णहरि जिसी निर्वाचित भएका छन् । न्यौपानलेले १३४ मत ल्याए भने जिसीले १०५ मत प्राप्त गरे । महासंघको महासचिवमा राजेन्द्र विक्रम बानियाँ निर्विरोध निर्वाचित भएका छन् । उनको महासंघमा यो दोस्रो कार्यकाल हुने छ । उनी यसअघि पनि महासचिव नै थिए ।
त्यस्तै महासंघको कोषाध्यक्षमा ओमकृष्ण कार्की निर्विरोध निर्वाचित भएका छन् । महासंघको सह–कोषाध्यक्ष राजन केसी विजयी भएका छन् । महाधिवेशनले ७ जना प्रदेश संयोजक सहित १६ सदस्सीय महासंघको नयाँ कार्यसमिति चयन गरेको हो ।
महासंघको प्रदेश तर्फ प्रदेश १ मा विद्यापति उपाध्याय, मधेश प्रदेशमा ध्रुव अर्याल, बागमती प्रदेशमा अर्जुन बहादुर सापकोटा, गण्डकी प्रदेशमा विकास थापा, लुम्बिनी प्रदेशमा यम प्रसाद पाण्डे, कर्णाली प्रदेशमा प्रकाश अधिकारी र सुदूरपश्चिम प्रदेशमा मेघराज भट्ट निर्विरोध निर्वाचित भएका छन् ।
महाधिवेशनमा महासंघमा आबद्ध देशभरका झण्डै ५ सय ट्रक व्यवसायीको सहभागिता रहेको थियो ।
















