Mangaldeep Aagarbatti
GBIME

‘खुला सिमानाका कारण बर्दियाका व्यवसायी मारमा परेका छन्, जिल्लामा छोटी भन्सारको आवश्यकता छ’

2.08K
shares

काठमाडौं, ११ पुस । निजी क्षेत्रमा देखिएका समस्या समाधानका लागि भन्दै देशभरका उद्योगी व्यवसायीहरु आन्दोनमा रहेका छन् । पछिल्लो समय बढेको ब्याजदरका कारण तथा तरलता अभावका कारण पनि व्यवसायीहरु समस्यामा परेको बताउँदै आएका छन् । ठूला कलकारखाना नभएका उपत्यका बारिहका जिल्लाका व्यवसायीका समस्याहरु के रहेका छन ? भारतसँग सिमा जोडिएको लुम्बिनी प्रदेशको बर्दिया जिल्ला अन्तर्गत गुलरीया उद्योग वाणिज्य संघका अध्यक्ष देवेन्द्र पाण्डेसँग केटिएम भ्वाइसले गरेको कुराकानीको सम्पादित अंश :

अहिले बर्दिया जिल्लाका व्यवसायीहरुको अवस्था के छ ?

बर्दियाका व्यवसायीहरुको अवस्था निकै नाजुक रहेको छ । यहाँका व्यवसायीहरुलाई खुला सिमानाका कारण व्यवसायी सबैभन्दा बढी मारमा परेका छन् । घरायशी प्रयोजन भनेर खुला सिमाका कारण सहज रुपमा सामान आउने गरेको छ । भन्सार नतिरेर आएका त्यस्ता सामानको मूल्य कम हुने भएकाले भन्सार तिरेर सामान ल्याउने व्यवसायीहरु पलयान हुने अवस्था देखिएको छ ।

व्यवसायीहरुले बारम्बार जिल्लामा छोटी भन्सार राख्नका लागि आवाज उठाएको भए पनि कार्यान्वयन हुन सकेको छैन । हाम्रा व्यवसायीहरुले रुपैडियाबाट सामान ल्याउनु पर्छ तर बर्दियाका खुला नाकाका कारण उनीहरु निकै निराश भएको अवस्था छ । यस तर्फ प्रशासनले पनि त्यति ध्यान नदिएको अवस्था छ । यस्ता कार्यले भारतसँग सिमाना जोडिएका क्षेत्रका व्यवसायीहरुलाई थप मर्का परेको छ ।

तपाई त्यहाँका व्यवसायीको नेता हुनुहुन्छ व्यवसायीका समस्या समाधानका लागि के पहल गरिरहनु भएका छ ?

यहाँका व्यवसायीका समस्या समाधानका लागि सम्बन्धित निकायमा निरन्तर पहल गर्ने काम भइरहेको छ । तर सरोकारवालो खासै चासो दिएको देखिदैन् । हामीले व्यवसायीका समस्या समाधानका लागि आन्दोलन समेत गरेको तर पनि सुनुवायी हुन सकेन् ।

प्रशासन तथा जनप्रतिनिधिहरु कसैबाट पनि सहयोग भएको छैन् । जिल्लाका जनप्रतिनिधीहरुले ने समातिएको सामान छुटाउने काम गर्ने गरेका छन् । यस्तो अवस्थामा उहाँहरुबाट पनि साथको अपेक्षा गर्न सकिने देखिदैन् । त्यस्तै खुला रुपमा अवैधरुपमा आउँदा अखाद्य वस्तु पनि आइरहेको छ । जसले उपभोक्तालाई प्रत्यक्ष असर पार्छ भने भन्सार तिरेर ल्याउने व्यवसायीलाई पनि थप मार परिरहेको छ । यस्ता विषयमा मेरो नेतृत्वको संघले बारम्बार पहल गरिरहेको छ ।

मोफसलका व्यवसायीहरुका समस्या के–के छन् ?

उपत्यका र उपत्यका बारिहरका व्यवसायीहरुका समस्या फरक छन् । हाम्रो बर्दिया जिल्लाका व्यवसायीको समस्याका कुरा गर्दा खुल्ला समिना हाम्रो समस्या हो । भारतसँग नाका जोडिएकाले गैरकानुनी रुपमा सामानहरु आइरहेका हुन्छन् । जसले भन्सार तिरेर रुपैडीयाबाट आउने सामानभन्दा त्यस्ता सामानको मूल्य सस्तो हुन्छ । जसले व्यवसायीहरु मारमा परेका छन ।

त्यस्तै अर्को तर्फ बैंकहरुको बढाएको ब्याजदरका कारण पनि यहाँका व्यवसायीहरु मारमा परेका छन् । जसका कारण धेरै व्यवसायीहरु पलायन समेत भएको अवस्था छ । जिल्लामा नै भन्सार नाका नभएकाले पनि समस्या भइरहेको छ । नाका खुला गरेको खण्डमा छिटो र सस्तोमा सामान ल्याउन सकिने र मूल्य पनि कम पर्ने थियो । अहिले बाँकेको रुपैडिया हुँदै सामान ल्याउँदा सामानको मूल्य बढ्न पुगेको छ । यहाँका व्यवसायीका लागि गुलरीया नाका खुलाएको खण्डमा सहज हुने थियो ।

नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्व कस्तो आउनु पर्छ ?

महासंघको नेतृत्वले सबै व्यवसायीलाई समान व्यवहार गर्नु पर्छ । हामीले महासंघले गएर आफ्नो मात्रै भन्दा पनि सबै व्यवसायीका नेतृत्व गर्ने व्यक्ति चाहिएको हो । अहिलेको नेतृत्वले ठूला व्यवसायीका विषयमा मात्रै ध्यान दिएको हो कि भन्ने आभास भइरहेको छ ।

महासंघको नेतृत्व व्यवसायीका समस्या समाधानका लागि सरोकारवाला निकायसँग छलफल गर्न सक्ने क्षमता राख्नु पर्ने हुन्छ । सरकारले गरेका सबै कामलाई सहज रुपमा स्वीकार गर्ने भन्दा पनि व्यवसाय मैत्री छन कि छैनन् भनेर आलोचना गर्ने सम्मको चते महासंघको नेतृत्वमा रहेका व्यक्तिसँग हुनु पर्ने हुन्छ ।

व्यवसायीहरु आत्म हत्यासम्म गर्ने अवस्थामा पुगेको बेला जिल्ला नगर सडकमा आउँदा पनि महासंघको नेतृत्वले साथ नदिएको घटना हाम्रासामु रहेको छ । यस्तो क्रियाकलाप महासंघले गर्नु हुँदैन । अर्को तर्फ ठूला व्यवसायीहरुको बैंकमा पनि लगानी रहेको छ । जसले गर्दा साना व्यवसायीहरु थप मारमा परेका छन् । आफूलाई मात्रै लाभ हुने किसिमले काम गर्ने नेतृत्वको हामीलाई चाहिदैन् ।

महासंघले व्यवसायीका लागि के गर्नु पर्छ जसले मोफसलका व्यवसायीलाई सहजता हुन्छ ?

उद्योग वाणिज्य महासंघको नेतृत्वले सबै व्यवसायीका समस्यालाई समान रुपमा लिएर समाधानका लागि पहल गर्नु परो । सबैको साझा संस्था भएकाले जिल्ला नगरगलाई पनि महासंले ध्यान दिनु पर्छ । अहिलेसम्म जिल्ला नगरलाई महासंले त्यति ध्यान दिएको देखिदैन् ।

ठूला व्यवसायीका कुरा मात्रै भन्दा पनि सबैका समस्यालाई उत्तिकै प्राथमिकता दिनु पर्छ । साना व्यवसायीको समस्यालाई नेतृत्वले सानो रुपमा लिनु हुँदैन् । साना उद्योगीका लागि उसलाई परेको समस्या ने सबैभन्दा ठूलो समस्या हो । त्यसलाई पनि सहज रुपमा समाधन गर्नका महासंले पहल गरिदिनु पर्ने हुन्छ ।

उपत्यका बारिहरका व्यवसायीहरुको राज्यसँग के अपेक्षा छन् ?

अहिले तत्कालका लागि हामीले राज्यसँग गर्ने अपेक्षा भनेको राष्ट्र बैंकल ल्याएको नीति नै खारेज गर्नुपर्छ भन्ने हो । त्यस बाहेक बर्दिया जिल्लामा उद्योग कलकारखाना नरहेको अवस्थामा निजी क्षेत्रसँग सहकार्य गरेर उद्योग कलकारखाना खोल्ने वातावारण निर्माण गरिदिँदा हामीलाइ सहज हुने थियो ।

त्यस्तै विदेशबाट ल्याउनु पर्ने कच्चा पदार्थको भन्सार महसुल छुट दिनु पर्ने, व्यवसाय गर्ने सहज वातावारण निमार्ण गर्ने काम राज्यले गरिदियोस् भन्ने आपेक्षा हाम्रो छ । बर्दिया सधै बाँकेको छायाँमा परेको छ । यस्तो अवस्थामा बर्दियामा पनि कलकारखाना निर्माण गर्न तर्फ राज्यको ध्यान जानु परो भन्ने हो ।

National life Banner
Dhulikhel Eco Resort 1200*100