Dhulikhel Eco Banner new

बालेन शाह आज प्रधानमन्त्री बन्दै, शीतल निवासमा शपथ समारोह

प्रधानमन्त्रीसँगै केही मन्त्रीहरूले पनि पद तथा गोपनीयताको शपथ लिने

1.86K
shares

काठमाडौं । देशले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाहले प्रधानमन्त्री पदको शपथ लिने कार्यक्रम तय गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो उनलाई पद तथा गोपनीयताको शपथ गराउनेछन्।

संवैधानिक प्रक्रिया अनुसार शपथअघि शाहलाई औपचारिक रूपमा प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी दिइनेछ। प्रतिनिधिसभामा स्पष्ट बहुमत प्राप्त दलको नेताका रूपमा उनलाई संविधानको धारा ७६(१) बमोजिम सरकार गठनको जिम्मेवारी दिइएको हो।

शपथ ग्रहण समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेता, कूटनीतिक निकायका प्रतिनिधि, नागरिक समाजका अगुवा तथा उच्च सरकारी अधिकारीको उपस्थिति रहने अपेक्षा गरिएको छ। प्रधानमन्त्रीसँगै केही मन्त्रीहरूले पनि पद तथा गोपनीयताको शपथ लिने तयारी गरिएको छ, जसले नयाँ सरकारको प्रारम्भिक स्वरूप एकैदिन सार्वजनिक हुने संकेत दिएको छ।

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय बहुमत हासिल गरेको थियो। सोही आधारमा दलले शाहलाई संसदीय दलको नेताको जिम्मेवारी दिँदै सरकार नेतृत्वका लागि अघि सारेको हो।

झापा क्षेत्र नम्बर ५ बाट भारी मतान्तरसहित निर्वाचित शाहले नयाँ सरकारको नेतृत्व गर्दै देशको राजनीतिक तथा आर्थिक दिशा तय गर्ने अपेक्षा गरिएको छ। यसअघि प्रतिनिधिसभाका ज्येष्ठ सदस्यद्वारा नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरिसकेकाले अब कार्यकारी नेतृत्व गठनको चरण सुरु भएको हो।

नयाँ सरकारसँग राजनीतिक स्थिरता, सुशासन र प्रभावकारी सेवा प्रवाहको अपेक्षा गरिएको छ।