३ महिनाभित्र नवीकरण नगरे बीमा सर्भेयरको लाइसेन्स स्वतः खारेज हुने
वि.सं.२०८२ चैत १२ बिहीवार १८:०२
shares

काठमाडौं, १२ चैत । नेपाल बीमा प्राधिकरणले बीमा सर्भेयरको इजाजतपत्र (लाइसेन्स) नवीकरण प्रक्रियामा कडाइ गरेको छ। अब लाइसेन्सको म्याद सकिएको मितिले ३ महिनाभित्र नवीकरणका लागि निवेदन नदिए स्वतः खारेज हुने व्यवस्था गरिएको छ।
प्राधिकरणले बिहीबार ५ बुँदे निर्देशन जारी गर्दै बीमा ऐन, २०७९ को दफा ९५ बमोजिम यस्तो प्रावधान लागू गरिएको जनाएको हो। चैत ११ गतेको निर्णयअनुसार तोकिएको समयभित्र नवीकरण प्रक्रिया पूरा नगर्ने सर्भेयरहरूको लाइसेन्स स्वतः रद्द हुनेछ।
निर्देशनअनुसार नवीकरणका लागि सर्भेयरले लाइसेन्सको अवधि सकिनुअघि आफूले गरेको कामको विवरण तथा आवश्यक कागजात पेस गर्नुपर्नेछ। यो व्यवस्था बीमा नियमावली, २०८१ को नियम ४८ ९१० मा उल्लेख गरिएको छ।
त्यस्तै, नवीकरण शुल्क तथा नियमन दस्तुर नबिल बैंक मा रहेको प्राधिकरणको खातामा जम्मा गर्नुपर्नेछ। व्यक्तिगत सर्भेयरका लागि ११ हजार रुपैयाँ र संस्थागतका लागि २१ हजार रुपैयाँ शुल्क तोकिएको छ।
प्राधिकरणले आवश्यक कागजात र बैंक भौचर चैत मसान्तभित्र केन्द्रीय कार्यालयमा बुझाइसक्नुपर्ने जनाएको छ।
यस्तै, बीमा ऐन, २०७९ को दफा ९४ (१) अनुसार निर्धारित समयमा नवीकरण गर्न नसकेका सर्भेयरले म्याद सकिएको मितिले ३ महिनाभित्र ५ हजार रुपैयाँ विलम्ब शुल्क तिरेर निवेदन दिन सक्ने व्यवस्था पनि गरिएको छ।
नयाँ व्यवस्थाले बीमा सर्भेयरहरूको पेशागत अनुशासन र नियमनलाई थप प्रभावकारी बनाउने प्राधिकरणको विश्वास छ।



















