अवकाश कोषमा अनलाइनबाटै रकम जम्मा गर्न सकिने
वि.सं.२०७९ असार २० सोमवार १५:५५
shares

काठमाडौं, २० असार । नागरिक लगानी कोषको कर्मचारी बचत बृद्धि अवकास योजना अन्तर्गत कार्यालय तथा संघ–संस्थाहरुले आफ्ना कर्मचारीहरुका निम्ति कोषमा जम्मा गर्ने रकम अब एनसीएचएलका सदस्य बैंक वित्तीय संस्थाका कुनै पनि बैंक शाखाहरु वा कर्पोरेटपे प्रणाली मार्फत बचत गर्न सक्ने भएका छन् । जस अन्तर्गत संघ–संस्थाहरुले संयुक्त रुपमा आफ्ना कर्मचारीहरुको विवरण दाखिला गरी कोषको ई–सर्भिस पोर्टल मार्फत सब्मिसन नम्बर तथा अफिस कोर्ड प्राप्त गरी अनलाइनबाट भुक्तानी गर्न सक्ने भएका हुन् ।
यसरी २० लाख रुपैयाँसम्मको रियल टाइममा र सोभन्दा माथि २० करोडसम्मको नन् रियालटाइममा जम्मा गर्न सकिने जनाइएको छ । बैंक वित्तीय संस्थाका संस्थागत ग्राहकहरुले आवश्यक विवरण उपलब्ध गराई बैंक वित्तीय संस्था मार्फत सो रकम जम्मा गर्न सक्दछन् । साथै संघ–संस्था आफैंले पनि कर्पोरेटपे मार्फत उक्त भुक्तानी खाताबाटै गर्न सक्ने जनाइएको छ । यस प्रकारको भुक्तानीमा सम्बन्धित कर्मचारीको विवरण पनि स्वतः अपडेट हुने बताइएको छ ।
संस्थागत ग्राहकहरुले सर्भिस डट एनएलकेडट ओआरजीडट एनपी मा लग–इन गरी Service Payment भित्र रहेको Government Payment अन्तर्गत CIT Phatbari मा सब्मिसन नम्बर तथा अफिस कोर्ड दाखिला गरी कर्पोरेटपेमा लिन्क गरिएको आफ्नो खाताबाट भुक्तानी गर्न सकिने छ ।
यसरी बैंक शाखा तथा कर्पोरेटपे मार्फत नागरिक लगानी कोषको अवकाश कोषको रकम अनलाइनबाट जम्मा गर्न सकिने हुँदा कोषका ३ लाख भन्दा बढी ग्राहकहरुलाई सुविधा हुनुका साथै कोषलाई स्वचालित रुपमा डिजिटल माध्यम प्रयोग गरी सेवा प्रवाह गर्न पनि मद्दत पुग्ने विश्वास गरिएको छ ।
नागरिक लगानी कोषले एनसीएचएलका connectIPS तथा सदस्य बैंक वित्तीय संस्थाका शाखा र मोबाईल बैंकिङ्ग लगायतका प्रणाली मार्फत कोषको कर्मचारी बचत बृद्धी अवकाश कोषको (८०५) कर्जा भुक्तानीको रकम संकलन गर्दै आएको छ । साथै उपदान कोष र लगानीकर्ता हिसाब योजना अन्तर्गत लाभग्राहीहरुको बैंक खातामा सिधै भुक्तानी गर्ने गरी एनसीएचएलका विभिन्न प्रणालीहरुको प्रयोग गर्दै आएको छ ।















