Dhulikhel Eco Banner new

सेलेक्ट युएसए सम्मेलनमा एमच्याम नेपाल प्रतिनिधिमण्डलद्वारा अमेरिकी उपविदेशमन्त्रीसॅग भेटवार्ता

2.78K
shares

काठमाडौं, २४ वैशाख । ‘सेलेक्टयूएसए’ लगानी सम्मेलनमा सहभागी एमच्याम नेपाल प्रतिनिधिमण्डलले संयुक्त राज्य अमेरिकाका उपविदेशमन्त्री क्रिस्टोफर ल्यान्डाउसँग भेट गर्ने विशेष अवसर प्राप्त गरेको छ। एक प्रतिष्ठित कूटनीतिज्ञ तथा मेक्सिकोका लागि पूर्व अमेरिकी राजदूत भएका ल्यान्डाउले नेपाल–अमेरिका आर्थिक सम्बन्ध सुदृढीकरणका विषयमा दूरदर्शी धारणा प्रस्तुत गरे। उनले राजनीतिक नेतृत्व परिवर्तनशील भए पनि दीर्घकालीन समृद्धिका लागि स्थिर नीतिगत संरचना र निरन्तर आर्थिक कूटनीति नै निर्णायक हुनेमा जोड दिए। नेपालप्रति आफ्नो आत्मीयता व्यक्त गर्दै उनले भने , “नेपाल मेरो मनमा बस्छ, र म कुनै दिन त्यहाँ भ्रमण गर्न चाहन्छु।”

प्रतिनिधिमण्डलको नेतृत्व एमच्याम नेपालका कार्यकारी निर्देशक आमिर आर थापाले गरेका थिए । उनले ल्यान्डाउलाई नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणा दिए । साथै प्रतिनिधिमण्डलले एमच्याम नेपालको विस्तार हुँदै गएको पहुँचबारे जानकारी गराउँदै हाल १४ क्षेत्रका ६६ वटा अमेरिकी९सम्बद्ध कम्पनीहरूको प्रतिनिधित्व गरिरहेको उल्लेख गर्‍यो, जसले द्विपक्षीय व्यापारिक सम्बन्धको गहिराइ बढ्दै गएको देखाउँछ।

एमच्याम नेपालले नेपालले ‘सेलेक्टयूएसए’ लगानी सम्मेलनमा ऐतिहासिक सहभागिता जनाउन सक्ने वातावरण निर्माणमा निरन्तर सहयोग र साझेदारीका लागि अमेरिकी विदेश मन्त्रालय र अमेरिकी वाणिज्य मन्त्रालयप्रति हार्दिक आभार व्यक्त गरेको छ। सम्मेलनको एक विशेष सत्रमा विलियम किम्मिटले प्रमुख मन्तव्य दिँदै विश्वभरिका प्रतिनिधिहरूलाई स्वागत गर्नुभयो र बलियो नीतिगत वातावरण, नवप्रवर्तन तथा बजार अवसरमा आधारित संयुक्त राज्य अमेरिका विदेशी प्रत्यक्ष लगानीका लागि उत्कृष्ट गन्तव्य रहेकोमा जोड दिए ।

एमच्याम नेपालले नीतिगत स्थायित्व, निजी क्षेत्रको नेतृत्व र उद्यमका लागि अनुकूल वातावरणमार्फत नेपालको लगानी परिवेश सुदृढ गर्ने आफ्नो प्रतिबद्धता पुनः दोहोर्‍याएको छ। ‘सेलेक्टयूएसए’ जस्ता मञ्चहरूले नेपाल र संयुक्त राज्य अमेरिका बीच विश्वासमा आधारित साझेदारी निर्माण तथा लगानी र सहकार्यका नयाँ अवसरहरू सिर्जना गर्न महत्वपूर्ण भूमिका खेलिरहेका छन्। नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै  शितेस भट्टराई, अभय पौडेल, सबिन थापा, अनिश श्रेष्ठ तथा दिनेश सिलवाल सहभागी थिए।

अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल अर्थात् एमच्याम नेपाल नेपाल र संयुक्त राज्य अमेरिका बीच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन गर्ने प्रमुख मञ्च हो। यसले सरकार तथा निजी क्षेत्रसँग सहकार्य गर्दै व्यवसायिक वातावरण सुधार तथा दिगो आर्थिक विकास प्रवर्द्धन गर्ने कार्य गर्दै आएको छ।