Dhulikhel Eco Banner new

अप्पर सोलुको आईपीओमा साढे ९ गुणा बढी आवेदन

4.3K
shares

काठमाडौं, २३ असार । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आईपीओमा साढे ९ गुणा बढी आवेदन परेको छ । कम्पनीले असार २० गतेदेखि निष्काशन गरेको शेयरमा १५ लाख बढी आवेदकको आवेदन परेको हो ।

सिडिएस एण्ड क्लियरिङ्गको अनुसार बिहीबार साँझ ५ बजेसम्ममा १५ लाख १८ हजार ५३१ जना आवेदकबाट १ अर्ब ७३ करोड ५९ लाख ७६ हजार रुपैयाँ बराबरको १ करोड ७३ लाख ५९ हजार ७६० कित्ता शेयरको लागि आवेदन परेको हो ।

कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १९ लाख ५७ हजार ५०० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो । त्यसमध्ये २ प्रतिशत अर्थात ३९ हजार १५० कित्ता कर्मचारीहरुका लागि ५ प्रतिशत अर्थात ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । त्यसपछि बाँकी हुने १८ लाख २० हजार ४७५ कित्ता मात्रै सर्वसाधारणलाई वितरण हुनेछ ।

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार एक लाख ८२ हजार ४७ जनाले मात्रै शेयर पाउनेछन् ।