Dhulikhel Eco Banner new

कुकुर तिहार रील प्रतियोगिता : उत्कृष्ट भिडियोलाई एक लाख रुपैयाँ पुरस्कार

377
shares

काठमाडौं, १८ कात्तिक। नेपाल पर्यटन बोर्डले नेपाली मौलिक पर्व तथा मानव र कुकुरबीचको विशेष सम्बन्धलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले ‘कुकुर तिहार रील प्रतियोगिता २०२६’ आयोजना गर्ने भएको छ ।

प्रतियोगितामा उत्कृष्ट भिडियो बनाउने सर्जकलाई एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने बोर्डले जनाएको छ । प्रतियोगितामार्फत नेपालको विशिष्ट सांस्कृतिक परम्परा र कुकुर तिहारको महत्वलाई सामाजिक सञ्जालमार्फत विश्वभर चिनाउने लक्ष्य राखिएको छ ।

प्रतियोगितामा सहभागी हुन इच्छुकले कुकुर तिहारसँग सम्बन्धित मौलिक भिडियो (रील) तयार गर्नुपर्नेछ । भिडियोमा अंग्रेजी सबटाइटल वा अंग्रेजी भ्वाइस ओभर अनिवार्य गरिएको छ ।

तयार गरिएको भिडियो इन्स्टाग्राम वा फेसबुकमा पोस्ट गर्दा #NepalFestival र #KukurTihar ह्यासट्याग प्रयोग गर्नुपर्नेछ । साथै, इन्स्टाग्राममा @nepaltourism लाई ट्याग गर्नुपर्नेछ । फेसबुकमा पोस्ट गर्नेले नेपाल पर्यटन बोर्डको आधिकारिक फेसबुक पेजलाई ट्याग गर्नुपर्ने व्यवस्था गरिएको छ ।

सहभागीले आफ्नो भिडियोको पहुँच खुला (Accessible) हुने गरी गुगल ड्राइभमा अपलोड गरेर त्यसको लिंकसहित [email protected] मा इमेलमार्फत पठाउनुपर्नेछ ।

प्रतियोगितामा सहभागी हुन भिडियो बुझाउने अन्तिम मिति सन् २०२६ नोभेम्बर २१ तोकिएको छ । उत्कृष्ट भिडियो छनोट हुने सर्जकले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

नेपालमा तिहारको दोस्रो दिन मनाइने कुकुर तिहारमा कुकुरलाई फूलमाला लगाएर, टीका तथा मिठा परिकार खुवाएर सम्मान गर्ने परम्परा छ । यस पर्वले मानव र कुकुरबीचको आत्मीय सम्बन्ध, माया र विश्वासलाई प्रतिबिम्बित गर्छ ।