निःशुल्क एआई तालिममा ६८ हजार ५०० बढीको आवेदन, १ हजार जनाले मात्रै अवसर पाउने
वि.सं.२०८३ कात्तिक १८ बुधवार १०:११
shares

काठमाडौं, १८ कात्तिक। युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सञ्चालन गर्न लागेको निःशुल्क अनलाइन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तालिममा ६८ हजार ५०० भन्दा बढी युवाले आवेदन दिएका छन् ।
प्रतिष्ठानले सञ्चालन गर्न लागेको ‘प्रभावकारी प्रम्प्ट इन्जिनियरिङसहित एआईमा दक्षता हासिल गर्ने’ (Mastering AI with Effective Prompt Engineering) नामक तालिमका लागि ठूलो संख्यामा आवेदन परेको हो ।
तालिमका लागि आवेदन दिने अन्तिम समय मंगलबार दिउँसो ३ बजे समाप्त भएको थियो । कार्यक्रमअन्तर्गत आवेदन दिएका मध्येबाट एक हजार जना प्रशिक्षार्थी छनोट गरिने प्रतिष्ठानले जनाएको छ ।
छनोट भएका आवेदकलाई एसएमएसमार्फत जानकारी गराइनेछ । तालिम सञ्चालनसम्बन्धी थप विवरण तथा आवश्यक जानकारी आधिकारिक माध्यमबाट सार्वजनिक गरिने बताइएको छ ।
निःशुल्क अनलाइन माध्यमबाट सञ्चालन हुने यस तालिमले युवालाई एआई प्रविधिको प्रभावकारी प्रयोग, प्रम्प्ट इन्जिनियरिङ तथा डिजिटल सीप विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
एआई प्रविधिको प्रयोग तीव्र रूपमा विस्तार भइरहेका बेला यससम्बन्धी सीप हासिल गर्न युवाहरूको उल्लेख्य आकर्षण देखिएको यस आवेदन संख्याले संकेत गरेको छ ।



















