हेटौँडा औद्योगिक क्षेत्रका दुइ उद्योगमा सिल
वि.सं.२०७९ भदौ ४ शनिवार ०९:१६
shares

काठमाडौं, ४ भदौ । मकवानपुर जिल्लामा रहेको हेटौँडा औद्योगिक क्षेत्रमा सञ्चालित दुई उद्योगमा प्रशासनले सिलबन्द गरेको छ । मानव र पशुपन्छीको स्वास्थ्यमा प्रतिकूल असर पुर्याउने किसिमले अखाद्य पदार्थ उत्पादन र बिक्री गरेको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले अनामिका खाद्य र भ्याली फिड प्रा.ली मा सिलबन्दी गरेको हो । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी वद्रीनाथ गैरेको नेतृत्वमा अनुगमनमा खटिएको टोलीले दुई उद्योगमा सिल गरेको हो ।
अनामिका उद्योगले २०७६ सालदेखि खाद्यपदार्थको अनुज्ञापत्र नलिएर गैरकानुनीरुपमा खाद्य पदार्थको उत्पादन गरी सञ्चालनमा रहेको छ भने भ्याली फिड उद्योगले उत्पादन सामानमा उत्पादन मिति र उपभोग्य मिति नलेखेर उपभोक्तालाई ठगी गरेकाले कानुनी प्रक्रिया पूरा नभएसम्म सिलबन्दी रहने बताइएको छ ।
भ्याली फिडको १३ हजार केजीको ९ लाख २३ हजार मूल्य बराबरको दुई सय ६० बोरा दाना बिक्री वितरणमा प्रशासनले रोक लगाएको छ । साथै तीन दिनभित्र जिल्ला प्रशासन कार्यालयमा आवश्यक कागजपत्रसहित उपस्थितिका लागि निर्देशनसमेत सहायक प्रमुख जिल्ला अधिकारी गैरेले जानकारी दिए ।

















