लाभांश सिजनमै सुस्तायो सेयर बजार: २,५९० को मनोवैज्ञानिक बिन्दुमा कडा परीक्षण
वि.सं.२०८३ भदौ ९ मंगलवार ०७:४०
shares

साउन र भदौ महिना नेपाली सेयर बजारका लागि सामान्यतया ‘स्वर्णिम समय’ मानिन्छ। सूचीकृत कम्पनीहरूको वार्षिक वित्तीय विवरण सार्वजनिक हुने, नाफा र लाभांशको घोषणा हुने तथा सरकारको नयाँ बजेट कार्यान्वयनमा आउने यो अवधिमा विगतका वर्षहरूमा बजार निकै चलायमान हुन्थ्यो। तर, यसपटक परिदृश्य नितान्त फरक छ। नयाँ आर्थिक वर्ष सुरु भएको दुई महिना बित्न लाग्दा र लाभांशको मौसम चलिरहँदा पनि सेयर बजारमा उत्साह देखिनुको साटो सुस्तता छाएको छ। सोमबार नेप्से परिसूचक २,६०० को महत्वपूर्ण मनोवैज्ञानिक रेखाभन्दा तल झरेर २,५९९ विन्दुमा अडेपछि आज (मंगलबार) को कारोबारलाई बजारको भावी दिशा तय गर्ने अत्यन्तै निर्णायक विन्दुका रूपमा हेरिएको छ।
नयाँ आर्थिक वर्षको पहिलो साता साउन ५ गते २,७५४ को उच्च विन्दुसम्म पुगेको बजार त्यसयता निरन्तर ओरालो यात्रामा छ। यस अवधिसम्म आइपुग्दा सूचक मात्र घटेको छैन, दैनिक साढे ६ अर्ब रुपैयाँसम्म पुगेको कारोबार रकम खुम्चिएर सवा ३ अर्बको हाराहारीमा सीमित हुन पुगेको छ। रोचक कुरा त के छ भने, गत आर्थिक वर्षमा वाणिज्य बैंकहरूले मात्रै आफ्नो नाफा झन्डै ३२ प्रतिशतले बढाएका छन् भने बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) प्रचुर मात्रामा थुप्रिएको छ। घरजग्गा कारोबारमा देखिएको लामो मन्दीले पनि पुँजी बजारमा पैसा भित्रिनुपर्ने सैद्धान्तिक अनुमानलाई व्यवहारमा रूपान्तरण गर्न सकेको छैन। नियामक निकायले नीतिगत लचकता अपनाए पनि बजारलाई कृत्रिम रूपमा नबढाउने सरकारी नीतिको प्रभाव र ठूला लगानीकर्ताको निष्क्रियताले आम लगानीकर्ता ‘पर्ख र हेर’ को रणनीतिमै खुम्चिएका हुन्।
बजारको आधारभूत पक्ष (फन्डामेन्टल) बलियो देखिँदा–देखिँदै पनि प्राविधिक रूपमा भने बजारले निकै कडा दबाब झेलिरहेको छ। दिनभर खरिदकर्ताभन्दा बिक्रेता नै हावी हुँदा बजारले लगातार ‘लोअर लो’ (तल्लो विन्दु) को शृंखला बनाइरहेको छ। प्राविधिक विश्लेषणका सूत्रहरूलाई आधार मान्दा नेप्से अहिले फिबोनाचीको ७८.६ प्रतिशत रिट्रेसमेन्ट विन्दु अर्थात् २,५९० को निकै संवेदनशील क्षेत्रमा उभिएको छ। बजारको घट्दो ट्रेन्डलाई मापन गर्ने सूचक ‘एडीएक्स’ लगातार उकालो लागिरहेकाले मन्दीको मनोविज्ञान अझै बलियो रहेको देखाउँछ। यद्यपि, अर्को महत्वपूर्ण सूचक ‘आरएसआई’ अत्यधिक बिक्री (ओभरसोल्ड) क्षेत्रको नजिक पुगेकाले आजको बजारमा यही २,५९० आसपासको विन्दुबाट खरिदकर्ता आकर्षित भई प्राविधिक सुधार (बाउन्स ब्याक) आउन सक्ने झिनो आशा भने प्राविधिक विश्लेषकहरूले राखेका छन्।
समग्र बजार निरन्तर ओरालो लागे पनि हिजोको कारोबार तथ्यांकले एउटा सकारात्मक र अर्थपूर्ण संकेत छाडेको छ। हिजो कारोबार रकम खुम्चिए पनि शीर्ष १० ठूला ब्रोकर कम्पनीमध्ये अधिकांश (सातवटा) ले सेयर बिक्रीभन्दा खरिद बढी गरेका छन्। यसले के प्रस्ट पार्छ भने, बजार घटेको त्रासले साना तथा आम लगानीकर्ताले अत्तालिएर सेयर फालिरहँदा ठूला र संस्थागत लगानीकर्ताहरूले भने सस्तो मूल्यमा विस्तारै सेयर सङ्कलन (अक्युमुलेसन) गर्न थालेका छन्।

यी समग्र फन्डामेन्टल र प्राविधिक परिस्थितिहरूको विश्लेषण गर्दा आजको सेयर बजार दुईवटा धारको चेपुवामा पर्ने निश्चित छ। यदि बजार खुल्नासाथ २,५९० को विन्दुमा टेवा पाएर खरिदकर्ताको चाप बढ्यो भने बजारले पुनः लय समात्नेछ र लगानीकर्ताको मनोबल उकासिनेछ। तर, यसको विपरीत यदि बिक्रीको चापले उक्त मनोवैज्ञानिक टेवा पनि भत्कायो भने बजारले थप केही अंकको अनपेक्षित गिरावट व्यहोर्नुपर्ने जोखिम कायमै छ। त्यसैले, आजको बजारमा लगानीकर्ताहरूले हतारमा निर्णय लिनुभन्दा सुरुवाती कारोबारको ट्रेन्ड र ठूला लगानीकर्ताको उपस्थितिलाई सूक्ष्म रूपमा मूल्यांकन गर्दै अघि बढ्नुपर्ने देखिन्छ।

















