उपनिर्वाचनमा व्यक्तिगत गालीगलौच हैन एजेण्डामा आधारित बहस गरौं : अध्यक्ष ओली
वि.सं.२०७९ चैत २३ बिहीवार १३:१५
shares

काठमाडौं, २३ चैत । एमाले अध्यक्ष केपी शर्मा ओलीले व्यक्तिगत गालीगलौज नगरी एजेण्डामा आधारित बहस गर्न नेताहरुलाई आग्रह गरेका छन् । बिहिबार सामाजिक सञ्जाल फेसबुकमा ओलीले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा स्वस्थ र मर्यादित बनाउन र एजेण्डामा आधारित बहसमा उत्रिन आगह्र गरेका हुन् ।
‘उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरी एजेण्डामा आधारित बहस गर्न म आग्रह गर्दछु। ’ उनले भनेका छन् ।
आफूले गत चुनावमा पनि कांग्रेसको सभापतिलाई एजेण्डामा आधारित बहसका लागि आग्रह गरेको भन्दै उनले त्यतिबेला सफल नभएको र अबको राजनीतिलाई सही बाटोमा लैजान एजेण्डा केन्द्रित बहस गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन् ।
‘मैले गत आम निर्वाचनका क्रममा पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीलाई बहसका निम्ति आउन आह्वान गरेको थिएँ, त्यसबेला मेरो प्रयास सफल भएन । अब हामीले राजनीतिलाई सही बाटोमा लैजान एजेण्डा केन्द्रित बनाउनै पर्छ ।’ उनले लेखेका छन् ।
उपनिर्वाचनमा भाग लिने धेरैजसो उम्मेदवारहरू नयाँ र युवा अनुहार देखेको भन्दै खुसी व्यक्त गरेका उनले यो नेपाली राजनीतिलाई सही बाटोमा लैजाने राम्रो संकेत भएको टिप्पणी गरेका छन् ।

















