पाँच महिनामा चार लाखभन्दा बढी विदेशी पर्यटक भित्रिए
वि.सं.२०८० जेठ १८ बिहीवार १६:५०
shares

काठमाडौं, १८ जेठ । सन् २०२३ को पाँच महिनामा ४ लाख ४ हजार २५७ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार जनवरीदेखि मे महिनासम्म सो सङ्ख्यामा पर्यटक भित्रिएका हुन् ।
मे महिनामा मात्रै ७७ हजार सात सय ३० पर्यटक नेपाल आएका छन् । यस वर्षको जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार दुई सय ५५, मार्चमा ९९ हजार ४२६ र अप्रिलमा ९८ हजार सात ७७३ पर्यटक भित्रिएका थिए ।
तथ्याङ्कअनुसार मे महिनामा पनि सबैभन्दा बढी भारतबाट ३६ हजार ५७५ पर्यटक भित्रिएका छन् । भारतपछि अमेरिकाबाट ८ हजार ५४५, चीनबाट चार हजार ६६७, बेलायतबाट दुई हजार ९२७, अष्ट्रेलियाबाट २ हजार १८४ जना पर्यटक आएका छन् ।
बङ्गलादेशबाट २ हजार १६४, मलेसियाबाट १ हजार ३२१, जर्मनीबाट १ हजार १६५, फ्रान्सबाट १ हजार ९७ र दक्षिण कोरियाबाट १ हजार ३९ जना पर्यटक भित्रिएका छन् ।
कोभिडले सुस्ताएको पर्यटन क्षेत्रले पछिल्लो समयमा गति लिंदै गएको छ । स्थलमार्गबाट आउने भारतीय पर्यटक बाहेक सन् २०१९ मा करिब १२ लाख पर्यटकको आगमन भएकोमा कोभिड महामारीका कारण सन् २०२० र २०२१ मा पर्यटक आगमन सङ्ख्या क्रमः २ लाख ३० हजार र १ लाख ५१ हजारमा सीमित रहन पुगेको थियो ।
यद्यपि, सन् २०२२ मा भने पर्यटक आगमनमा उल्लेख्य वृद्धि भई छ लाख १४ हजार ८६९ पुगेको छ । सन् २०२३ मा पर्यटक आगमन निरन्तर बढिरहेको छ ।


















