Dhulikhel Eco Banner new

पूर्वीनाकाबाट तीन महिनामा ४७ करोड ९७ लाखको तरकारी आयात

4.63K
shares

काठमाडौं, ११ मसिंर । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको तीन महिनामा निर्यातका तुलनामा पाँच गुणाभन्दा धेरै ताजा तरकारी भारतबाट आयात भएको छ ।

प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाको प्रथम त्रैमासिक अभिलेखअनुसार आर्थिक वर्ष २०८०÷८१ को साउन, भदौ र असोजमा भारतबाट ४७ करोड ९७ लाख ६० हजार मूल्यबराबरको २३ हजार नौ सय ८८ मेट्रिक टन ताजा तरकारी आयात भएको छ ।

सोही अवधिमा नेपालबाट नौ करोड ६५ लाख ७२ हजार आठ सय मूल्यबराबरको छ हजार ३० मेट्रिक टन तरकारी भारत निर्यात भएको कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरले बताए । पूर्वीनाकाबाट हुने ताजा तरकारीको व्यापारमा चालु आवको तीन महिनामै ३८ करोड ३१ लाख ८७ हजार दुई सयबराबरको व्यापार घाटा भएको छ ।

नेपालबाट निर्यात हुने ताजा तरकारीमा बन्दाकोभी, मुला र गोलभेँडा
छन् । यीमध्ये सबैभन्दा बढी नौ करोड ५४ लाख ७२ हजार मूल्यबराबरको पाँच हजार नौ सय ६७ मेट्रिक टन बन्दाकोभी भारततर्फ निर्यात भएको ठाकुरले जानकारी दिए ।

यसैगरी तरकारीमा गोलभेँडा रु पाँच लाख १२ हजार मूल्यबराबरको २६ मेट्रिक टन र रु पाँच लाख ८९ हजार मूल्यबराबरको ३७ मेट्रिक टन मुला भारततर्फ निर्यात भएको छ । धनकुटा र इलाममा उत्पादित बन्दाकोभी, मुला र गोलभेँडा भारत निर्यात हुने गरेको छ ।