राष्ट्र बैंकले रोकिदियो कर्णाली विकास बैंकको निक्षेप संकलन
वि.सं.२०८१ मंसिर ११ मंगलवार ०९:२२
shares

काठमाडौं, ११ मंसिर । नेपाल राष्ट्र बैंकले कर्णाली विकास बैंकमा निक्षेप लिन र कर्जा दिन रोक लगाएको छ । नेपालगन्जमा रहेको यस विकास बैंकमा समस्यामा देखिएपछि निक्षेप लिन र कर्जा दिन रोक लगाएको हो ।
यस विकास बैंकमा निरीक्षण गर्दा तोकिए बमोजिमको पूँजीकोष अनुपात कायम नहुने देखिएको, निष्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत पुगेको लगायत समस्या देखिएपछि राष्ट्र बैंकले कारबाही गरेको हो ।
‘संस्थाको वित्तीय अवस्था समस्याउन्मुख देखिएकाले निक्षेपकर्ता र सर्वसाधारणको हित संरक्षण गर्ने अभिप्रायले सो संस्थालाई मंगलबारबाट लागू हुनेगरी थप निक्षेप संकलन गर्न, नयाँ निक्षेप खाता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाई शीघ्र सुधारात्मक कारबाही गरिएको राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।
यस विकास बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार तीन महिनामा खुद नोक्सानी १ करोड ९८ लाख रुपैयाँ छ ।


















