Dhulikhel Eco Banner new

आईटी कम्पनीलाई विदेश लगानीका लागि २० हजार डलर नि:सर्त सटही

4.64K
shares

काठमाडौं, १५ पुस । नेपाल राष्ट्र बैंकले सेवा निर्यात गर्ने सूचना तथा प्रविधि (आईटी) कम्पनीलाई विदेशमा लगानी गर्न अमेरिकी डलर २० हजारसम्मको विदेशी मुद्रा सटही सुविधा निःसर्त दिने निर्णय गरेको छ।

केन्द्रीय बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७८ मा संशोधन गर्दै यो सुविधा उपलब्ध गराउने व्यवस्था गरेको हो। यसअनुसार, आईटी उद्योगले कम्तीमा पछिल्ला तीन आर्थिक वर्ष सेवा निर्यात गरी विदेशी मुद्रा आर्जन गरेको हुनुपर्नेछ। सेवा निर्यातबाट प्राप्त औसत विदेशी मुद्राको ५० प्रतिशत वा १० लाख अमेरिकी डलर (दुईमध्ये न्यून) सटहीका लागि उपलब्ध हुनेछ।

संशोधित विनियमावलीअनुसार, विदेशी मुद्रा सटहीका लागि अब सीधै राष्ट्र बैंक जानुपर्ने बाध्यता हटेको छ। कम्पनीले सटही सुविधा वाणिज्य बैंकमार्फत लिन सक्ने व्यवस्था गरिएको छ।

त्यसैगरी, विदेशी लगानीकर्ता सम्बन्धित कम्पनी वा उद्योगमा कायम चुक्ता पूँजीको दुई गुणासम्म विदेशी ऋण लिन सक्ने व्यवस्था गरिएको छ। तर यो सीमा पाँच गुणासम्म बढ्न रोकिँदैन। ब्याजदर सम्बन्धी प्रावधानमा, प्रिमियमदरको ५० प्रतिशत भन्दा बढी नबढ्ने गरी वार्षिक ब्याजदर कायम गर्नुपर्ने उल्लेख छ।

विदेशी ऋणसम्बन्धी कारोबारमा ऋणदाता र ऋणी बाहेक तेस्रो पक्षले रकम भुक्तानी गर्न नपाउने, र आवश्यक परामर्शरसेवाका लागि ऋणदाताले स्वयं भुक्तानी गर्नुपर्ने व्यवस्था पनि विनियमावलीमा समावेश गरिएको छ।

केन्द्रीय बैंकले शेयर स्वामित्व परिवर्तन मार्फत गरिने विदेशी लगानी सम्बन्धी पूर्वस्वीकृति लिनुपर्ने व्यवस्थालाई पनि हटाएको छ। अब विदेशी लगानीबाट प्राप्त रकम नेपाल पठाउन वा भित्र्याउन राष्ट्र बैंकको पूर्वस्वीकृति आवश्यक नहुने व्यवस्था लागू हुनेछ।